बुटवल लुम्बिनी एफसी र आरएस रिसोर्ट एन्डबीच फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबल छनोट प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनीले लम्की फुटबल ट्रेनिङ सेन्टरमाथि १–० को जित निकालेको हो।
लुम्बिनीको जितमा करुणा परियारले गरेको गोल नै निर्णायक बन्यो। यससँगै सात टोली रहेको समूह ‘बी’ मा बुटवल लुम्बिनीले पहिलो खेलबाट तीन अंक बटुल्यो।
यसै समूहमा संकटाले पहिलो खेलमा रौतहटको नेपाल खेलकुद क्लबमाथि १–० ले हराएको थियो। समूहमा शीर्ष दुई स्थानमा रहने टोलीले सीधै महिला लिगमा स्थान बनाउनेछ। तेस्रो हुने टोलीले प्लेअफमार्फत राष्ट्रिय लिगमा स्थान बनाउने अवसर पाउनेछ।
यस समूहमा लम्कीसँगै एफसी रिएले हार बेहोरेका छन्। बुटवलले पहिलो हाफमा भने गोल गर्न सकेन। तर, दोस्रो हाफमा बुटवल लुम्बिनीले गोल गर्यो। ६३औं मिनेटमा करुणाको गोलबाट बुटवलले अग्रता लियो।
लम्कीका डिफेन्डरको गल्तीमा करुणाले गोल गरेकी हुन्। लम्कीकी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई करुणाले आठ यार्डबाट नै हेडमार्फत जाली चुमाएकी हुन्। त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र बुटवल लुम्बिनीले महत्वपूर्ण जित निकाल्यो।
यस समूह ‘बी’ मा संकटा र बुटवलसँगै एनआरटी, एनबिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल क्लब र नेपाल खेलकुद क्लब छन्।
शुक्रबार नै भएको अर्को समूह ‘ए’ को खेलमा आरएस रिसोर्ट एन्ड बिचले पनि राप्ती एफसीमाथि १–० को साँघुरो जित निकाल्दै सुखद सुरुआत गरेको छ। आरएस रिसोर्टको जितमा इशा चौधरीले गोल नै निर्णायक बन्यो।
यसै समूहमा छहारी युवा क्लबले पनि एक खेलबाट तीन अंक जोडिसकेको छ। समान एक खेलबाट आरएस रिसोर्ट र छहारीको समान तीन अंक छ। यस समूहबाट पनि शीर्ष दुई टोलीले राष्ट्रिय लिगमा स्थान बनाउनेछन् भने तेस्रो स्थाानमा रहने टोलीले प्लेअफमार्फत अवसर पाउनेछ।
यो समूहमा चर्च ब्वाइज युनाइटेड, छहारी, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एन्ड बिच र एफसी रिएले छन्।
शुक्रबाको पहिलो खेलमा पनि १० खेलाडीमा सीमित भएको राप्तीमाथि आरएस रिसोर्ट एन्ड बिच क्लबले संघर्षपूर्ण जित निकालेको हो। खेलको ३८औं मिनेटमा समीक्षा पौडेलले दोहोरो पहेँलो कार्ड खाएपछि राप्ती १० खेलाडीमा सीमित भएको हो।
तर, पहिलो हाफमा आरएस रिसोर्टले त्यसको फाइदा लिन सकेन। पहिलो हाफमा गोलरहित बराबरी नै भयो। तर, दोस्रो हाफमा आरएस रिसोर्ट एन्ड बिचले गोल गर्यो। ५१औं मिनेटमा ईशा चौधरीले गोल गर्दै आरएस रिसोर्ट एन्ड बिचलाई अग्रता दिलाइन्।
उषा शाहीको उत्कृष्ट थ्रु बललाई सदुपयोग गर्दै इशाले गोल गरेकी हुन्। त्यसपछि थप गोल हुन सकेन र आरएस रिसोर्ट एन्ड बिचले साँघुरो जित निकाल्यो।
छनोट प्रतियोगितामा सहभागी कुल १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। सिंगल राउन्ड रोबिन पद्धत्तिको प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले राष्ट्रिय महिला लिगमा स्थान पक्का गर्नेछ। समूहका तेस्रो स्थानमा रहने दुई टोलीमध्येको विजेताले पनि छनोट हुनेछ।
Shares

प्रतिक्रिया