राजनीति


कुवेतमा नेपालीको मृत्युको कारण ‘मेथानोल मिश्रित मदिरा’, दूतावासले भन्यो- घातक पेयबाट टाढै बस्नू

कुवेतमा नेपालीको मृत्युको कारण ‘मेथानोल मिश्रित मदिरा’, दूतावासले भन्यो- घातक पेयबाट टाढै बस्नू

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार २०:९, काठमाडौँ

कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपालीलाई स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन आग्रह गरेको छ। 

शुक्रबार साँझ विज्ञप्ति जारी गरी दूतावासले विषाक्त मदिरा सेवनबाट नेपालीको निधन भएको घटनामा दु:ख व्यक्त गर्दै यस्तो आग्रह गरेको हो। 

‘स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहनु हुनसमेत राजदूतावास विशेष अनुरोध गर्दछ,’ दूतावासले भनेको छ।  

दूतावासले घटनामा ३५ नेपाली नागरिक विभिन्न स्थानीय अस्पतालमा उपचाररत रहेको पनि जनाएको छ। 

‘केहीको मृत्यु भएको जानकारी पनि राजदूतावासमा प्राप्त भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ,’ दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘केही बिरामीहरू विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत रहेका छन्।’

घटनाबारे जानकारी पाएसँगै राजदूत र दूतावासका कर्मचारीहरूले नेपालीको उपचार भइरहेका अस्पताल पुगेर उनीहरूको अवस्थाबारे जानकारी लिएको पनि विज्ञप्तिमा उल्लेख छ।   

यता नेपाल पत्रकार महासंघ, वैदेशिक शाखा कुवेतले विज्ञप्ति नै जारी गरी उनीहरूको मृत्युको कारण अति मेथानोल मिश्रित मदिरा सेवनबाट भएको खुलेको जनाएको छ। 

महासंघका अध्यक्ष एकराज मल्ल र सचिव आङकाजी शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अति प्रज्ज्वलनशील पदार्थ मेथानोल मिश्रित मदिरा सेवनबाट गत सातादेखि हालसम्म कुवेतको विभिन्न स्थानमा २३ जना आप्रवासी श्रमिकको दु:खद् निधन भएको छ।’

मदिरा सेवनपछि बिरामी भएका १६० बढीको स्थानीय अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको पनि महासंघले जानकारी दिएको छ।

‘विषाक्त मदिरा सेवन गरी निधन हुनेमध्ये १६ जना नेपाली आप्रवासी श्रमिकहरू रहेको पुष्टि भएको छ,’ महासंघले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad