खेल


नेपालले अस्ट्रेलियामा 'टप इन्ड टी-२०' लगत्तै 'प्रिपरेसन सिरिज' खेल्ने (तालिका)

नेपालले अस्ट्रेलियामा 'टप इन्ड टी-२०' लगत्तै 'प्रिपरेसन सिरिज' खेल्ने (तालिका)

नेपालखबर
साउन २९, २०८२ बिहिबार ९:४४, काठमाडौँ

आईसीसी पुरुष अन्डर ट्वान्टी (टी-२०) वर्ल्ड कप एसिया - ईएपी क्वालिफायर तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले यही अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजलगत्तै प्रिपरेसन सिरिज खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारीअनुसार नेपालले अगस्ट २६ देखि ३० सम्म एसीटी र साउथ अस्ट्रेलियासँग ५ खेल खेल्ने कार्यक्रम छ।  

जसअनुसार नेपालले अगस्ट २६ मा एसीटीविरुद्ध पहिलो खेल बिहान ५:४५ बजे र दोस्रो खेल बिहान ९:४५ बजे, अगस्ट २८ मा साउथ अस्ट्रेलियाविरुद्ध पहिलो खेल बिहान ५:४५ बजे र दोस्रो खेल बिहान ९:४५ बजे तथा अगस्ट ३० मा ओडी म्याच साउथ अस्ट्रेलियाविरुद्ध नै खेल्नेछ। 

अस्ट्रेलियामै हुने ‘टप इन्ड टी-२० सिरिज’को तालिका भने यसअघि नै सार्वजनिक भइसकेको छ। जसअनुसार नेपालले पहिलो खेल अगस्ट १५ (साउन ३०) मा मर्दन टेरिटोरी स्ट्राइकर्सविरुद्ध खेल्नेछ। 

सिरिजको दोस्रो खेलमा नेपालले १६ अगस्ट (साउन ३०) मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ। नेपालको तेस्रो खेल मेलवर्न स्टारको एकेडेमी टिमसँग अगस्ट १८ (भदौ २)मा हुनेछ। सिरिजको चौथो खेलअन्तर्गत नेपालले अगस्ट १९ (भदौ ३) मा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग प्रतिस्पर्धा गर्नेछ। 

आफ्नो पाँचौ खेलमा नेपालले अगस्ट २० (भदौ ४) मा मेलबर्न रेनेगेट्सको एकेडेमी टोलीसँग हुनेछ। यस्तै नेपालले समूह चरणको छैटौँ तथा अन्तिम खेलमा अगस्ट २२ (भदौ ४) मा पाकिस्तान ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणको शीर्ष चारमा रहने टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन्। उक्त सेमिफाइनल र फाइनल खेल २४ अगस्ट (भदौ ८) मा हुनेछ।

उक्त सिरिजमा ११ टोलीको सहभागीता रहनेछ। सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्।

त्यस्तै सिरिजमा बिगबास लिग (बीबीएल)का हर्बट हरिकेन्स, पर्थ स्कोचर्स, एडिलेट स्ट्राइकर्स, मेलवर्न स्टार तथा मेलबर्न रेनेगेट्स टोलीका एकेडेमी टोलीहरूको सहभागिता हुनेछ।

त्यस्तै उक्त प्रतियोगितामा दुई स्थानीय टोलीको सहभागिता रहने बताएको छ। सिरिजको उद्घाटन खेल अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ बीच हुनेछ।

नेपाललको लक्ष्य शीर्ष चारमा रहेर सेमिफानइल हुँदै ट्रफी जित्ने हुनेछ। उक्त सिरिजपछि नेपालले बलियो टोली वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र वेष्ट इण्डिजबीच सेप्टेम्बर २५ देखि ३० सम्म अन्तर्राष्ट्रिय टी-२० सिरिज हुने पक्का भइसकेको छ।

यी दुई टोलीबीचको सिरिज यूएईमा हुनेछ। वेस्ट इन्डिज दुई पटकको टी-२० विश्वकप विजेता टोली हो। नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय टी-२० सिरिज खेल्दै छ। 

यस्ता बलिया अभ्यास र विश्वस्तरीय टोलीसँगको प्रतिस्पर्धापछि नेपाललाई विश्वकप तयारीमा धेरै नै मद्दत पुग्नेछ।

यसपछि नेपालको ध्यान विश्वकप छनोटमा हुनेछ। सन् २०२६ को टी-२० विश्वकपमा स्थान बनाउन नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी-२० एसिया क्षेत्र छनोटमा भाग लिनेछ। उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ। नेपालसँगै समूहमा कुवेत र जापान छन्।

त्यस्तै समूह ‘ए’मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष ३ टोली विश्वकपमा छनोट हुनेछन्। 

उक्त प्रतियोगितामा ९ टोलीको सहभागिता रहेनछ। एसिया तथा पूर्वी एसिया-प्रान्त क्षेत्रबाट विश्वकपसम्म यात्रा तय गर्न आयोजक टोली ओमान, नेपाल, यूएई, मलेसिया, कुवेत, कतार, जापान, सामोआले र पपुवा न्युगिनीको सहभागिता रहनेछ।

उक्त प्रतियोगिता अक्टोबर ८ देखि सुरु हुनेछ। सुपर सिक्सका शीर्ष तीन टोली सन् २०२६ भारत र श्रीलंकामा आयाजना हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकप छनोटका लागि तीव्र गतिमा अभ्यास अगाडि बढाइरहेको छ। नेपालको एउटै लक्ष्य छ- सन् २०२६ मा हुने टी-२० विश्वकपमा छनोट हुने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad