नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि १ सय ५० खेलाडी अक्सनमा सहभागी हुने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै खेलाडी दर्ता प्रक्रियामा ४ सय ५८ खेलाडीले नाम दर्ता गराए पनि प्राविधिक समितिले तयार पारेको मापदण्ड अनुसार १ सय ५० खेलाडी अक्सनका लागि छनोट भएको जनाएको छ।
क्याटोगोरी ‘ए’ मा मोहम्मद आदिल आलमसहित अर्जुन साउद, दिलिप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, सुर्य तामाङ र सुनम गौतम रहेका छन्।
नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिबन्धमा परेका आदिल क्याटोगोरी ‘ए’ मा समेटिएका छन्।
फिक्सिङ आराेपमा प्रमाण नपुगेको भन्दै अदालतले उनलाई सफाइ दिएको थियो। अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आदिलमाथिको सबै प्रतिबन्ध हटाएको थियो।
अक्सनमा क्याटोगोरी ‘ए’ मा ८ जना, क्याटोगोरी ‘बी’ मा ३४ जना र क्याटोगोरी ‘सी’ मा १ सय ६ जना खेलाडी सहभागी हुनेछन्।
अक्सनमा १ सय ५० खेलाडीको नाम भएपनि ३७ खेलाडी मात्र बिक्रि हुनेछन्। दोस्रो संस्करणको एनपीएलका लागि सबै टोलीले खेलाडी रिटेन र रिलिज गरिसकेका छन्। अब क्याटोगोरी ‘ए’ बाट ४ जना क्याटोगोरी ‘बी’ बाट २३ र क्याटोगोरी ‘सी’ बाट १० खेलाडी मात्र किनबेच हुनेछन्।
क्याटोगोरी ‘ए’ का खेलाडीलाई न्युनतम १० देखि १५ लाख रुपैयाँ सम्म बोली लाग्नेछ। क्याटोगोरी ‘बी’ मा रहेका खेलाडीमाथि न्युनतम ५ देखि १० लाख रुपैयाँ सम्म बोली लाग्नेछ। क्याटोगोरी ‘सी’ मा रहेको खेलाडीमाथि न्युनतम २ लाख देखि ५ लाख रुपैयाँ सम्म बोली लाग्नेछ। खेलाडी अक्सन यही २४ गते काठमाडौँमा हुँदैछ।
Shares

प्रतिक्रिया