अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ।
एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा यही साउन १५ गते दशरथ रंगशालामा ‘सो कार्यक्रमको औपचारिक शुभारम्भ हुने एन्फाले जनाएको छ।
एन्फाले सोमबार एक विज्ञप्ति जारी गरी कार्यक्रम अन्तर्गत देशभरका ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गरिने योजना रहेको स्पष्ट पारेको छ।
‘फुटबल फर स्कुल’ कार्यक्रम ‘फिफा’ र ‘युनेस्को’ को सहकार्यमा सञ्चालित एक कार्यक्रम हो जसले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुयाउने लक्ष्य राखेको छ। यसको मुख्य उद्देश्य विद्यालय तहका विद्यार्थीहरूलाई फुटबलमार्फत शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गराउनु रहेको छ।
यस कार्यक्रमले फुटबललाई शिक्षणको एक माध्यमको रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई जीवनोपयोगी सीपहरू (जस्तै अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशीता) सिकाउन मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम अन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण गरिनेछ, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम दिइनेछ र सिकाइलाई रमाइलो तथा व्यवहारिक बनाइनेछ।
यो कार्यक्रम सबै वर्ग, जाति, लिङ्ग र भूगोलका बालबालिकाहरूलाई लक्षित गरी समावेशी र पहुँचयोग्य बनाइएको एन्फाले जनाएको छ।
यस कार्यक्रमले विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Shares

प्रतिक्रिया