युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकोले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न नसकिएको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको बताए। उनले प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको उल्लेख गर्दै प्रतियोगिता सञ्चालन गरिने बताए
‘कर्णाली प्रदेशको सुर्खेत र अन्य ठाउँमा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति र खेल सञ्चालन गर्न उपयुक्त मौसम नभएको भन्नेसम्बन्धी सरोकारवालाहरुसँग दिएको सुझाव एवं जानकारी समेतलाई दृष्टिगत गरी हाल १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरेको छ,’ चौधरीले भने, ‘हामीले उक्त प्रतियोगिताको लागि अगामी आर्थिक वर्षको लागि बजेट समेत छुट्याएको हुनाले अगामी वर्षमा हुन्छ।’
देशभरका विभिन्न क्रिकेट रंगशालाको विकास र स्तरोन्नतिका लागि समेत सरकार गम्भीर भएको बताउँदै उनले खेलको वृहत्तर विकासका लागि भौति पूर्वाधार निर्माण, खेलाडीलाई प्रशिक्षण लगायतका लागि अगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको समेत उल्लेख गरे।
Shares

प्रतिक्रिया