विश्व ब्याडमिन्टन दिवस २०२५ को अवसरमा भक्तपुरमा विशेष कार्यक्रम आयोजना भएको छ।
काठमाडौँ ब्याडमिन्टन एकेडेमी (केबीए) ले भक्तपुर जिल्ला ब्याडमिन्टन संघसँगको सहकार्यमा र भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुरका गल्ली र चौताराहरूमा विविध गतिविधिका साथ सम्पन्न भएको हो।

‘गल्ली ब्याडमिन्टनः सबैका लागि ब्याडमिन्टन गलीदेखि गौरवसम्म’ भन्ने नाराका साथ भएको कार्यक्रममा ५ वर्षदेखि ९१ वर्षसम्मका २०० भन्दा बढी सहभागी भएका थिए।
सहभागीहरूमा ब्याडमिन्टन खेलाडी, विद्यार्थी, जेष्ठ नागरिक, महिला तथा स्थानीय खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, भक्तपुर नगरपालिकाका पर्यटन विभाग प्रमुख गौतम लसिवा, पूर्वराष्ट्रिय खेलाडीहरू तथा विभिन्न खेल संघका पदाधिकारीहरूको उपस्थिति रह्यो।
विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगितामा भक्तपुरका विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो। त्यस्तै, स्थानीय स्तरमा ब्याडमिन्टनको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका अम्पायर राधेश्याम मछामाछी र प्रशिक्षक सबिन ढुंगेललाई सम्मानपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा केबीएका अध्यक्ष रिता बिष्टले ‘गल्ली ब्याडमिन्टन कार्यक्रम समुदायमै पुगेर खेललाई सबैको पहुँचमा पुर्याउने अभियान हो’भन्दै सहभागी, साझेदार र सहयोगीहरूलाई धन्यवाद दिइन्।
संघका सचिव दीपक थापाले स्थानीय टोल, गल्ली र आँगनसम्म ब्याडमिन्टन पुर्याउँदै सामाजिक समावेशीता र मौलिक खेल संस्कृतिको विकासमा योगदान दिने दीर्घकालीन उद्देश्य रहेको बताए।
Shares

प्रतिक्रिया