राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आइटी सुत्र इन्कको सद्भावना दूता नियुक्त भएका छन्। संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको आईटी कन्सल्टिङ कम्पनीले कप्तान किरणलाई ३ वर्षका लागि सद्भावना दूतामा नियुक्त गरेको हो।
अमेरिकामा सोमबार दुई पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। ११ वर्षदेखि प्रविधि क्षेत्रमा नवप्रवर्तनकारी समाधानहरू प्रदान गर्दै आएको कम्पनीले किरणलाई ३० लाख रुपैयाँ बराबरको सम्झौता गरेको जानकारी दिएको छ।
यो सम्झौताले प्रविधि र खेलकुदलाई जोडेको कम्पनीले बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पंकज श्रेष्ठले किरण चेम्जोङ खेलकुदको मैदानमा मात्रै होइन, हरेक नेपाली युवाका लागि प्रेरणाको स्रोत भएको बताए।
'किरणको अटल समर्पण र विश्वास कम्पनीको मूल्यमान्यतासँग मेल खान्छ। यो केबल एउटा व्यावसायिक सम्झौता मात्र नभई नेपाली प्रतिभालाई प्रविधि र खेलकुद दुवै क्षेत्रमा अगाडि बढाउने हाम्रो साझा प्रतिबद्धता हो' उनले भने।
आईटी सुत्र अमेरिकाको टेक्सासमा मुख्यालय रहेको एक आइटी परामर्श र स्टाफिङ कम्पनी हो। कम्पनीको सफलताको प्रमुख आधार अमेरिकाका प्रतिष्ठित कम्पनीहरूमा १२ सय भन्दा बढी नेपाली प्राविधिकलाई अवसर प्रदान गर्नु रहेको बताइएको छ।
Shares

प्रतिक्रिया