कुनै बेला नेपाली महिला फुटबलकी कीर्तिमानी खेलाडी हुन् अनु लामा।
राष्ट्रिय टोलीमा सर्वाधिक गोलको कीर्तिमान बनाएकी उनी अहिले भने प्रशिक्षणमा व्यस्त छिन्।
सन् २०१० मा बंगलादेशमा भएको साफ महिला च्याम्पियनसिपबाट अनुको ‘डेब्यु’ भएको थियो। सोही खेलमा ह्याट्रिक (तीन गोल) गरेपछि उनको चर्चा पनि चुलियो।
त्यसअघि उनी उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्थिन्। सिनियर टोलीमा डेब्युको ६ वर्षमा उनले ३५ गोल गर्दै इतिहास रचेकी थिइन्। पूर्वकप्तान जमुना गुरुङको नाममा रहेको २५ गोलको कीर्तिमान अनुले तोडेकी थिइन्।
तर उनको कीर्तिमानलाई पछि अर्की फरवार्ड सावित्रा भण्डारीले तोडेकी थिइन्।

महिला टोलीको छैटौँ कप्तान
अनु नेपाली राष्ट्रिय महिला टोलीको छैटौँ कप्तान हुन्। उनकै कप्तानीमा नेपालले सन् २०१४ देखि १६ सम्म महिला फुटबलमा प्रतिस्पर्धा गर्यो।
सन् २०१६ मा उनले घुँडामा चोट बोकिन्। पछि पुनरागमनको लागि निकै मिहिनेत पनि गरिन् तर भाग्यले साथ दिएन।
यसबीचमा उनी शान्ति मिसनका लागि बाहिर गइन्। त्यहाँबाट फर्केर आएपछि उनले भारतमा भएको (दक्षिण एसियाली खेलकुद (साग) खेल्न गइन्। त्यहाँ टोलीका लागि उनले २ गोल गरिन्।
त्यसपछि भारतमा भएको हिरो गोल्डकपमा पनि उनी टोलीमा परेकी थिइन्। तर अधिकांश समय बेन्चमा नै बिताउनुपर्यो।
अन्तिम खेल म्यान्मारसँग
हिरो गोल्डकपमा म्यान्मारसँग अनुले करिब ५ मिनेट मैदानमा बिताएकी थिइन्। त्यो नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्न पुग्यो। त्यसपछि पनि उनी टोलीमा पर्न निकै मिहिनेत गरे पनि सफल हुन सकिनन्। अन्तर्राष्ट्रिय खेल खेल्दै राष्ट्रिय टोलीबाट विदा लिने उनको चाहना अधूरै रह्यो।
राष्ट्रिय टोलीबाट औपचारिक रुपमा विदा लिन नपाएपछि अनु विभागीय टोली एपीएफ क्लबको जर्सीमा घरेलु प्रतियोगितामा मैदानमा देखिन्थिन्।
राष्ट्रिय टोलीबाट औपचारिक विदा लिने अधूरो रहरलाई उनले घरेलु फुटबलबाट संन्यास लिने समयमा केही हदसम्म पूरा गरिन्।
गत माघमा एन्फा महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबसँगको फाइनल खेलमा अनुले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै एपीएफकी कप्तान अनुले संन्यास लिइन्।

‘नेपालले स्वर्ण जितेको हेर्न पाऊँ’
मैदानबाट संन्यास लिए पनि अनु अहिले प्रशिक्षणमा व्यस्त छिन्।
आफूले खेल्दा होस् वा खेल्न छाडेपछि अनुको अबको एउटै चाहना छ, नेपालले स्वर्ण पदक जितेको हेर्ने।
अनुलाई लाग्छ– अहिलेको टोलीले स्वर्ण पदक जित्न सकेन भने फेरि यस्तै टोली बन्न अब एक दशकको समय लाग्नेछ।
अनुले कप्तानी जिम्मेवारी पाउँदा डेब्यु गरेका केही खेलाडी अझै पनि महिला टोलीमा छन्।
त्यसैले यही टोलीले स्वर्णपदक जितोस्, अनुको एउटै चाहना छ।
भिडिओ (सौगात दाहाल)
Shares

प्रतिक्रिया