खेल


बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमा निर्माण

नेपालखबर
जेठ २६, २०८२ सोमबार १०:४६, काठमाडौँ

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ। बुइपास्थित पञ्चदोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो। 

माझ किरातका रूपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानी छ। करिब रु १४ करोड लागतमा ‘फाइबर’ प्रयोग गरेर निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्क उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिइ निर्माण गरेको हो। 

आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिने गरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्ट फुड सेवा उपलब्ध हुने वडाध्यक्ष दिनेश राईले जानकारी दिए।

‘यलम्बर पार्कमा अन्य ठाउँमा हुने सबै सुविधा उपलब्ध हुनेछ। चारैतिर घेराबारले घेरिएको पार्कको बीचमा यलम्बरको विशाल प्रतिमा राखेका छौँ’, उनले भने, ‘आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको पार्क निक्कै आकर्षक बनेको छ। यसले नगरपालिकाको आन्तरिक स्रोतसमेत वृद्धि गर्ने अपेक्षा गरेका छौँ।’

हरेक हप्ताको शुक्रबार हटिया लाग्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बरको प्रतिमा विश्वमा निर्माण भएकामध्ये हालसम्मकै अग्लो र ठुलो भनेर दाबी गरिएको छ। किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बरपार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताए। 

‘यलम्बर पार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यो पार्कले नगरपालिकाको मात्र नभई प्रदेशकै पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ’, उनले भने, ‘पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ।’

यलम्बर पार्क निर्माण सम्पन्न भएको एक महिना बितिसक्दा पनि नगरपालिकाले रकम भुक्तानी नदिएको ठेकेदार कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्स्ट्रक्सन प्रालिका प्रबन्धक सुनिल राईले जानकारी दिए। 

‘तोकिएको काम गत वैशाख १० गतेभित्रै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरेका थियौँ। अहिलेसम्म नगरपालिकाले हामीले पाउने रकम भुक्तानी दिएको छैन’, उनले भने। 

राईका अनुसार यलम्बर पार्क निर्माण सम्पन्न गरेर यही जेठ १७ गते औपचारिक उद्घाटन गर्ने तयारी थियो। नगरपालिकाबाट करिब रु तीन करोड रकम भुक्तान लिन बाँकी रहेको र नगरपालिकाले भुक्तानी गर्न नसक्दा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की ल्याएर उद्घाटन गर्ने तयारी रोक्न बाध्य भएको उनले बताए। 

पार्क निर्माणमा कोशी प्रदेश सरकारको दायित्वअन्तर्गतको बजेट नगरपालिकामा प्राप्त नभएकाले ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। 

‘नगरपालिकाको तर्फबाट दिनुपर्ने भुक्तानी दिइसकेका छौँ। प्रदेश सरकारले रु तीन करोड ९० लाख बजेट उपलब्ध गराएको छैन’, उनले भने, ‘प्रदेशबाट यो आर्थिक वर्षमा बजेट आउने सम्भावना कम छ। बजेट आएको खण्डमा तत्काल भुक्तानी दिएर सञ्चालनमा ल्याउँछौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad