खेल


१० वर्षको प्रतिबन्ध सकेका थापालाई नेम्वाङले नै दिँदै छन् चलखेलको अवसर

१० वर्षको प्रतिबन्ध सकेका थापालाई नेम्वाङले नै दिँदै छन् चलखेलको अवसर

एन्फा अध्यक्ष पंकज नेम्वाङ र पूर्वअध्यक्ष गणेश थापा


लक्ष्मी जि.सी
बैशाख २९, २०८२ सोमबार १७:३६, काठमाडौँ

झण्डै दुई दशक उनले नेपाली फुटबलमा एकछत्र राज गरे।

तर सन् २०१५ नोभेम्बरपछि भने फुटबल गतिविधिमा उनको ‘ब्रेक’ भयो। फिफाको अनुशासन कमिटीले उनीमाथि १० वर्षको प्रतिबन्ध लगायो। 

तर त्यसले उनलाई पर्दापछाडिबाट नेपाली फुटबलमा राज गर्न रोकेन। 

यहाँ चर्चा गर्न खोजिएका व्यक्ति हुन् अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापा। 

फुटबलका कुनै पनि गतिविधि गर्न नपाउने गरी लामो प्रतिबन्धको सामना गरेका थापा त्यसलाई कटाएर फर्किएका छन्। लामो प्रतिबन्ध सकिने संघारमा आउँदै गर्दा उनले पुनरागमनको पृष्ठभूमि तयार गरिरहेका थिए। 

प्रतिबन्धको अवधि सकिएपछि नेपाली फुटबलका लागि आन्दोलन गर्ने उनको हुंकार थियो। नभन्दै वैशाखको सुरुवातमा उनको १० वर्षको प्रतिबन्ध सकियो। त्यसलगत्तै उनी एन्फामा धर्नामा बसे। 

पछिल्लो पटक वैशाख २६ गते धुलिखेलमा एन्फाको नियमित साधारणसभामा पस्न नपाउनु त उनको लागि नेपाली फुटबलमा फिर्तीको अवसरजस्तै बन्यो।

थापा सी डिभिजन क्लब आरसी ३२ र उनका छोरा गौरव काठमाडौं जिल्ला संघको प्रतिनिधिका रुपमा साधारणसभा स्थल पुगे पनि हलमा प्रवेश नै गर्न पाएनन्। कुनै बेला आफ्नो आदेशविना पात पनि नहल्लिने एन्फामा थापाले साधारणसभा प्रवेशका लागि गुहार लगाउनुपर्ने अवस्था बन्यो। 

अदालतले समेत साधारणसभामा जान खोलिदिएको बाटोमा एन्फाले गेटबाट छिर्नै नदिएर बाधक बनेपछि थापालाई के चाहियो र! एन्फा नेतृत्वको चर्काे आलोचना गर्ने अवसर पाए। 

आफूलाई रोक्ने सूचना पाएलगत्तै थापा अदालत गएका थिए। त्यसमा मागबमोजिम आदेश पाए। तर वर्तमान एन्फा नेतृत्वले उनलाई पस्नै दिएन भने प्रवेश नदिनुको कारण पनि प्रस्ट पारेको छैन।

साधारणसभामा बस्न नदिएर एन्फाले थापालाई थप बिच्क्याएको छ। यसअघि कर्माछिरिङ शेर्पालाई जसरी पनि हराउन पंकज विक्रम नेम्वाङसँग सम्झौता गरेका थापा अहिले त्यति बेलाभन्दा बढी सक्रिय भएर वर्तमान नेतृत्वविरुद्ध लाग्ने निश्चित छ।

अर्को वर्ष हुने एन्फा निर्वाचनमा नेम्वाङ समूहलाई हराउन थापाले जो कोहीसँग पनि सम्झौता गर्न अहिलेको नेतृत्वले ठाउँ दिएको छ। हिजो बन्द कोठामा बसेर अरूलाई एन्फा नेतृत्वमा पुर्याउन सक्रिय हुने गरेका थापा प्रतिबन्धको अवधि सकिएपछि थप बलियो भएर फर्केको भाष्य निर्माणमा लागेका छन्। 

आफू एन्फा नेतृत्वमा पुग्नका लागि नभई भ्रष्टाचारको विरुद्ध आवाज उठाउन र नेपाली फुटबल विकास गर्न लागि पर्ने थापाले दाबी गर्दै आएका छन्। थापाको दाबी र व्यवहारबीचको तालमेल हेर्नका लागि भने आउने केही महिना प्रतीक्षा गर्नुपर्ने हुन्छ। 

उनको आलोचनाबाट बच्न भने एन्फा नेतृत्वलाई हम्मे हम्मे पर्ने निश्चित छ।

प्रतिबन्धकै बेला चलखेल गर्थे थापा
वर्षौँसम्म फुटबलमा जिम्मेवार पदाधिकारीका रुपमा क्रियाशील व्यक्तिका लागि १० वर्षको प्रतिबन्ध आफैँमा ठूलो ‘ड्यामेज’ थियो। 

तर, थापाको हकमा त्यो पनि सामान्यजस्तै रह्यो। कारण, उनले त्यसको पालना नै गरेनन्। सार्वजनिक रुपमा फुटबलका कार्यक्रममा सहभागी नभए पनि एन्फा कार्यसमितिको पछिल्ला ३ चुनावमा उनी पर्दापछाडि सक्रिय मात्र होइन, केन्द्रमै रहे। 

उनी प्रतिबन्धमा परेको अवस्थामा बाँकी अवधिका लागि भएको निर्वाचनमा नरेन्द्र श्रेष्ठलाई जिताउन हास् वा पछिल्लो पटक पंकज विक्रम नेम्वाङको समूह बनाएर एन्फा कार्यसमितिमा पु¥याउन होस्, उनको भूमिका सबैभन्दा सक्रिय रह्यो। 

बीचमा कर्माछिरिङ शेर्पालाई एन्फा अध्यक्षमा निर्वाचित हुनबाट रोक्न पनि उनले प्रयास नगरेका होइनन्। तर त्यति बेला उनको प्रयास सफल भएन। 

समय बित्दै गयो, उनले चाहेजस्तै नेम्वाङले एन्फाको बागडोर सम्हाले। तर, विस्तारै नेम्वाङलगायतसँग थापाको दूरी बढ्न थाल्यो। त्यसको मुख्य कारण निर्वाचनअघि भएअनुसार आफ्ना छोरा गौरव थापाले एन्फामा प्रवेश पाएनन्।  

त्यसपछि थापा सामाजिक सन्जालमार्फत नेम्वाङ नेतृत्वको चर्काे आलोचना गर्न थाले। थापाले आलोचनाका क्रममा आफ्नो समयमा नेपाली फुटबलमा निकै राम्रो काम भएको दाबी गर्दै त्यसको तुलनामा अहिले काम हुन नसकेको बारम्बार दोहोर्‍याउँदै आएका छन्। 

उनका कतिपय दाबी गलत छैनन्। प्रतिबन्धको सुरुवाती केही वर्ष चौतर्फी आलोचना खेपे पनि पछिल्लो समय थापाप्रति सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी आउने गरेका छन्। त्यसले उनको हौसला चुलिएको छ। 

नेम्वाङ नेतृत्वले सोचेअनुरुप काम गर्न सकेको छैन। दुई वर्षदेखि ‘ए’ डिभिजन लिग नै हुनसकेको छैन। व्यक्तिगत सम्बन्धका आधारमा एन्फामा विभिन्न जिम्मेवारी दिँदा नेम्वाङ आलोचित हुँदै आएका छन्। 

यस्तोमा अहिले कुनै जिम्मेवारीमा नरहेका थापालाई आलोचनाका लागि नेम्वाङ समूहले नै विषय दिँदै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad