इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष ४ को दौड रोमाञ्चक बनेको छ।
लिग चरणका १५ खेल मात्र बाँकी हुँदा अब शीर्ष ४ का लागि ७ टोलीबीच रोमाञ्चक स्पर्धा हुने देखिएको हो।
जारी आईपीएलमा १० टोली सहभागी छन्। तीमध्ये ३ टोली सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सको प्लेअफ पुग्ने सम्भावना लगभग सकिएको छ।
यीमध्ये हैदरावाद ७ अंकमा तालिकाको आठौँ स्थानमा, राजस्थान ६ अंकसहित नवौँ र चेन्नई ४ अंक मात्र बटुल्दै दशौँ स्थानमा छन्।
तीन टोलीको प्लेअफ होड सकिँदा शीर्ष ७ मा रहेका रोयल च्यालेन्जर्स ब्यांग्लोर, पञ्जाब किंग्स, मुम्बई इन्डियन्स, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच कडा प्रतिस्पर्धा हुनेछ।
यी टोलीहरु प्लेअफका लागि कडा मिहिनेत गरिरहेका छन्। कस्ता छन् त प्लेअफमा पुग्ने सम्भावना बाँकी रहेका ७ टोली?
रोयल च्यालेन्जर्स ब्यांग्लोर (आरसीबी)
आईपीएलको ११ खेलमा रोयल च्यालेन्जर्स ब्यांग्लोरले १६ अंक बटुलेको छ।
ब्यांग्लोरले ८ खेलमा जित हात पारेको ब्यांग्लोर ३ खेलमा हारका बाबजुद तालिकाको शीर्ष स्थानमा छ।
ब्यांग्लोरले अब लखनउ सुपर जायन्ट, सनराइजर्स हैदराबाद र कोलकाता नाइड राइडर्सविरुद्ध खेल्न बाँकी छ। यीमध्ये एक खेलमा मात्रै जित निकाले पनि प्लेअफमा स्थान सुरक्षित गर्नेछ।
नवौँ जितले आरसीबीलाई प्लेअफमा पुर्याउने सम्भावना एकातिर छ भने अर्कोतिर लिगका दुई खेल वर्षाका कारण हुन नसक्दा पनि उसलाई प्लेअफ पुग्न पर्याप्त हुनेछ।
पञ्जाव किंग्स
यता लिगका ११ मध्ये ७ खेलमा जित, तीन खेलमा हार र १ खेलमा अंक बाँडेको पञ्जाब किंग्स अंक तालिकाको दोस्रो स्थानमा छ। लिगमा पञ्जावले १५ अंक जोडेको छ। प्लेअफ होडमा पञ्जाव दोस्रो स्थानमा छ।
पञ्जावले अब दुई खेलमा जित निकाले १९ अंक बनाउनेछ। नेट रनरेट पनि राम्रो भएकाले अब दुई खेलमा जित निकालेमा पञ्जावले क्वालिफायरमा स्थान सुरक्षित गर्न सहज हुनेछ।
अथवा बाँकी तीनवटै खेल जिते सिधै क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ। पञ्जावले अब दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सविरुद्ध खेल्न बाँकी छ।
यद्यपि शीर्ष ४ कै दौडमा रहेका दिल्ली र मुम्बईविरुद्धका खेल पञ्जावका लागि केही कठिन बन्न सक्नेछ।
क्वालिफायरमा स्थान बनाउन प्लेअफ दौडबाट बाहिरिसकेको राजस्थानविरुद्धको जित पञ्जावका लागि अत्यावश्यक छ।
मुम्बई इन्डियन्स
प्लेअफमा स्थान बनाउन आईपीएलको अंक तालिकाको तेस्रो स्थानमा रहेको मुम्बईले अबका खेल जित्नुपर्ने देखिएको छ।
लिगका ११ खेलमध्ये ७ मा जित र ४ वटामा हार भोगेको मुम्बई १४ अंकसहित तालिकामा तेस्रो स्थानमा छ।
समान १४ अंक भए पनि चौथो स्थानमा रहेको गुजरातले १ खेल कम खेलेको छ। नेट रनरेटमा मात्र मुम्बई अगाडि छ। लगातार पछिल्ला ६ खेलमा जित निकालेको कारण मुम्बईको रनरेट बलियो देखिएको हो।
अब केही खेलमा जित निकाले प्लेअफमा मुम्बईको स्थान सुरक्षित हुनेछ।
क्वालिफायरमा स्थान बनाउन अन्य केही नतिजा समेत मुम्बईको पक्षमा आउनुपर्नेछ। मुम्बईले अब गुजरात, पञ्जाव र दिल्लीविरुद्ध खेल्न बाँकी छ।
गुजरात टाइटन्स
आईपीएलमा उत्कृष्ट नेट रनरेट भएको गुजरातले १० खेलमा १४ अंक जोडेको छ।
गुजरातले अब दुई खेलमा जित निकाले क्वालिफायरमा स्थान बनाउनेछ। १० खेलमा १४ अंक भएको गुजरात अंक तालिकामा चौथो स्थानमा छ।
गुजरातले लिगका १० खेलमध्ये सात खेलमा जित र ३ खेलमा हार भोगेको छ। अब गुजरातले ४ खेल खेल्न बाँकी छ। यीमध्ये दुई खेल घरेलु मैदानमा र २ खेल अरुको मैदानमा हुनेछ।
गुजरातले दुई खेलमा मात्रै जित निकाले पनि क्वालिफायरमा स्थान बनाउनेछ। गुजरातले अब मुम्बई, दिल्ली, लखनउ र चेन्नईविरुद्ध खेल्न बाँकी छ।
दिल्ली क्यापिटल्स
सोमबार राति वर्षाका कारण सनराइजर्स हैदरावादसँग अंक बाँडेको दिल्ली क्यापिटल्सलाई आईपीएलको अंक तालिकामा केही राहत मिलेको छ।
दिल्ली २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन बनाउँदा वर्षातका कारण दोस्रो इनिङ्स सुरु हुन सकेन। जसको फाइदा उसैलाई भएको छ।
लिगमा ११ खेलमा १३ अंक जोडेको दिल्ली अंक तालिकाको पाँचौँ स्थानमा छ। उसले पछिल्ला ५ खेलमा १ खेलमा मात्र जित निकालेको छ। खेलेकामध्ये ६ मा जित र ४ वटामा हार भोगेको छ।
क्वालिफायरमा स्थान बनाउन दिल्लीले बाँकी तीन खेलमा नै जित निकाल्नु आवश्यक छ। यस्तोमा अब उसको भिडन्त पञ्जाव, गुजरात र मुम्बईसँग हुनेछ।
पञ्जाव, मुम्बई र गुजरात तीनवटै टोली क्वालिफायरको दौडमा रहेकाले दिल्लीलाई त्यति सहज छैन।
कोलकाता नाइट राइडर्स
आईपीएलमा अहिलेसम्म कोलकाता नाइट राइडर्सले ५ खेलमा जित, ५ मा हार र एउटामा अंक बाँडेको छ। योसँगै कोलकाता ११ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।
पछिल्ला पाँच खेल हेर्ने हो भने कोलकाताले दुईमा जित, दुईमा हार र एक खेलमा अंक बाँडेको छ।
कोलकाताले अब चेन्नईसँग घरेलु मैदानमा खेल्न बाँकी छ। सनराइजर्स र आरसीबीसँग उनीहरुकै मैदानमा खेल्ने तालिका छ।
कोलकाताले अब बाँकी तीन खेलमा नै जित निकाले पनि १७ अंक हुनेछ। तर त्यति अंकले मात्रै कोलकातालाई प्लेअफमा पुग्न पर्याप्त हुँदैन। त्यसका लागि अन्य टोलीको नतिजा पनि कोलकाताको पक्षमा आउनुपर्नेछ।
प्लेअफमा स्थान बनाउन कोलकाताको अंक गणितीय सम्भावना मात्र बाँकी छ। अन्य टोलीको नतिजा र नेट रनरेट उसकै पक्षमा हुनुपर्ने देखिन्छ।
लखनउ सुपर जायन्ट
पछिल्ला तीन खेलमा लगातार हार भोगेको लखनउको प्लेअफ पुग्ने सम्भावना पनि अंक गणितीय रुपमा मात्र बाँकी छ। लखनउले ११ खेलबाट १० अंक जोडेको छ।
बाँकी तीन खेलमा खेलमा जित निकाले पनि प्लेअफमा पुग्न त्यो पर्याप्त देखिँदैन। यसका लागि अन्य टोलीको नतिजा आफ्नो पक्षमा आउनु जरुरी छ।
लखनउले अब आरसीबी, गुजरात र सनराइर्जसविरुद्ध खेल्न बाँकी छ। यी तीन टोलीलाई पराजित गरे पनि तालिकामा लखनउको १६ अंक मात्र हुनेछ।
अब एक खेलमा हार्दा लखनउ शीर्ष चारको दौडबाट बाहिरिनेछ। उसको नेट रनरेट पनि कमजोर छ।
Shares

प्रतिक्रिया