दक्षिण कोरियाको इन्चोन सिटीमा जुलाई १ देखि ३ तारिखसम्म हुने २०औँ एसियन रोलर स्केटिङ प्रतियोगिताको तयारीका क्रममा भारतको पन्जाबमा गएको नेपाली महिला राष्ट्रिय रोलर डार्बी टिम काठमाडौं फर्किएको छ।
सो टोली अप्रिल १८ देखि २८ सम्म १० दिने बन्द प्रशिक्षणमा सहभागी भएको थियो। छ महिनादेखि कोरियामा हुने प्रतियोगिताका लागि नेपालमा तयारी गरिराखेको महिला टोली थप तयारीका लागि भारत गएको हो।
रोलर डार्बीका प्रमुख प्रशिक्षक दिलीपराज बरालका अनुसार नेपाली महिला रोलर टोलीलाई यति एयरलाइन्सले सहप्रायोजन गरेको छ। नेपालमा रोलर स्केटिङ खेल निकै सम्भावना बोकेको खेल भएकाले यसलाई एसियन च्याम्पियनसिपमा रोलर डार्बीको टिमले नेपाललाई पदक दिलाउन सक्ने गरी तयारी गरिएको विश्वास प्रशिक्षक बरालको छ।
प्रशिक्षणका क्रममा प्रशिक्षक बराल, सन्दिप भटनागर, इलियन फ्रेन्चले एसियामा यसको सम्भावना, प्रवद्र्धन तथा विकास सम्बन्धमा गहिरो छलफल गराएका थिए।

सो प्रशिक्षणमा खेलाडीहरु कृपा पन्त, प्रेसिका बोहरा, नयना शाक्य, प्रसुना लामा, आयुष्मा ठकुरी, निमिशा तामाङ, पासाङ याङ्जी शेर्पा, योगिना श्रेष्ठ र सुचिना भाजु सहभागी भएका थिए। सो प्रशिक्षणको टिम व्यवस्थापकमा सन्जु श्रेष्ठ र अफिसियलमा विकास लामा थिए।
नेपाल स्केट तथा स्केटबोर्डिङ संघका सल्लाहकार तथा प्रशिक्षक दिलिपराज बराल र महासचिव सत्य थापाले पनि भारत गएर नै खेलाडीको आवतजावत लगायतको व्यवस्थापनमा सहयोग गरेका थिए।

कञ्चनपुरको गड्डाचौकी हुँदै फर्किएको सो टोलीलाई कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख खड्क रावतले स्वागत गरेका थिए । भने काठमाडौ विमानस्थलमा बुधबार साँझ नेपाल स्केट तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले स्वागत गरेका थिए ।
यसअघि भारत जाने क्रममा राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्य कमलप्रसाद भट्टराई र नेपाल स्केट तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले काठमाडौं विमानस्थल पुगेर बिदाइ गरेका थिए।
Shares

प्रतिक्रिया