पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई १६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) मा सबैभन्दा कम लक्ष्य प्रस्तुत गरेर पनि जित हासिल गरेको कीर्तिमान बनाएको छ।
मंगलबार राति ११२ रनको लक्ष्य पछ्याएको कोलकाता ३ विकेटको क्षतिमा ७२ रन बनाउँदै विजयको बाटोमा अगाडि बढिसकेको थियो।
तर त्यसपछि ३६ बलमा २३ रन जोड्दा सात विकेट गुमाउँदै आश्चर्यजनक रुपमा पतन भयो। १५.१ ओभरमा ९५ रनमा अलआउट भएपछि पञ्जावगले कीर्तिमान रचेको हो।
भारतीय लेग–स्पिनर युजवेन्द्र चहलले ४ विकेट लिए। अंगकृष रघुवंशी ३७ रनमा ब्याकवर्ड पोइन्टमा क्याच भएपछि कोलकाता लगातार ओरालो लाग्यो।
वेंकटेश अय्यरलाई ग्लेन म्याक्सवेलले सात रनमा एलबीडब्ल्यू धरापमा पार्दा रिंकु सिंहलाई चहलले स्टम्प गरे। वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेललाई फास्ट बलर मार्को जानसेनले १७ रनमा बोल्ड गरेपछि कोलकाताले आत्मासमर्पण गर्यो।
यो नतिजासँगै २००९ मा पञ्जाब किंग्सविरुद्ध चेन्नई सुपर किंग्सले ११६ रनको योगफलमा हात पारेको कीर्तिमान पनि तोडियो।
दोस्रो ओभरमा कोलकाताले ७ रन बनाउँदा २ विकेट गुमाएको थियो। तर अजिंक्य रहाणेले १७ र रघुवंशीले ३७ रनको योगदान दिँदा सहज जित नजिक पुगेर पनि कोलकाता असफल भयो।
रहाणे स्लग स्वीप गर्ने प्रयासमा एलबीडब्ल्यू आउट भए। उनले खेलपछि भने, ‘कप्तानको रूपमा मैले गलत शट खेलेँ। हामीले ब्याटिङ युनिटको रूपमा धेरै खराब ब्याटिङ गर्यौँ। बलरहरूले यस सतहमा साँच्चै राम्रो प्रदर्शन गरे। हामी लापरवाह थियौँ, ब्याटिङ युनिटको रूपमा हामीले पूर्ण जिम्मेवारी लिनुपर्छ। यो हाम्रो लागि सजिलै पूरा गर्ने लक्ष्य थियो।’
त्यसअघि पञ्जाबले १५.३ ओभरमा १११ रनमा अलआउट हुनु पहिले ३९ को अवस्थामा थियो। ओपनर प्रभसिमरन सिंह र प्रियांश आर्यले क्रमशः ३० र २२ रन बनाए पनि त्यसपछिका ब्याटरको प्रदर्शन ध्वस्त रह्यो।
हर्षित राणाले २५ रन खर्चिएर ३ विकेट लिँदा पञ्जावको अवस्था खराब बनेको थियो। यो जितपछि पञ्जाब चौथो र २ अंक कम भएको कोलकाता छैटौं स्थानमा छ। आईपीएलमा आज बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्नेछन्।
Shares

प्रतिक्रिया