समाज


इलाममा भेटियाे ‘भिओलेट कुक्कू’ चरा

इलाममा भेटियाे ‘भिओलेट कुक्कू’ चरा

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८२ बुधबार १३:१०, इलाम

नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ।  समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको इलामको सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ।

चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो।

चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए। टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाउनुभएको थियो। 

समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए।

उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ । यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, ब¬ङ्गलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्दछ । विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन्। 

यो सँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या आठ सय ९९ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad