खेल


केपी ओली कप टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौँको विजयी सुरुआत

केपी ओली कप टी-२० क्रिकेट :  स्याङ्जा र काठमाडौँको विजयी सुरुआत

नेपालखबर
चैत २३, २०८१ शनिबार २१:४८, कास्की

पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गरे।

पहिलो दिनको खेलमा स्याङ्जा र काठमाडौँले विजयी सुरुआत गरेका छन्। आजको पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै विजय हासिल गर्‍यो। खेलमा पहिला टस जितेर ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा एक सय ६२ रन बनाएको थियो। पोखरा महानगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो।

स्याङजाका अश्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे। उनले ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। किरण भट्टराई २३ रनमा अविजित रहे। पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान दुईरदुई विकेट लिए भने सुवाष बाँस्तोला र मार्सल बरालले समान एक÷एक विकेट लिए।

यसैगरी, दोस्रो खेलमा काठमाडौँले हेटौँडालाई ११ रनले पराजित गर्‍यो। एक सय ५२ रनको विजयी लक्ष्य पाएको हेटौँडा २० ओभरमा एक सय ४० रनमा ‘अलआउट’ भयो। हेटौँडाका लागि शुभ कङ्शाकरले ५४ रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन। उनले २४ बलमा नौ चौका र दुई छक्का प्रहार गरे।  

पहिला टस जितेर ब्याटिङ गरेको सिइसी काठमाडौँले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो। काठमाडौँका लागि पृथु बाँस्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले। उनले ३३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले एकेडेमीका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना गरेको हो।

आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेप्रतियोगितामा १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जनाएका छन्। प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसैगरी ‘म्यान अफ दि सिरिज’ले रु ३० हजार, वेष्ट बलर, वेष्ट ब्याटरले जनही रु १० हजार र ‘म्यान अफ दि म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीले जनाएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad