यू–१९ विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली पुरुष युवा टोली अफगानिस्तानसँगको पहिलो अभ्यास खेलमा १ सय ३० रनको फराकिलो अन्तरले पराजित भएको छ।
अफगानिस्तानले दिएको ३ सय १ रनको विशाल लक्ष्य पछ्याएको नेपाली युवा टोली ४६।२ ओभरमा १ सय ७० रन बनाउँदा अल आउट भयो।
अफगानिस्तानको घातक बलिङसामु नेपाली ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्।
नेपालका लागि निरज कुमार यादवले सर्वाधिक ५३ रनको योगदान दिए। सन्तोष यादव र अशोक धामीले समान २४ रन थपे। अविशेक तिवारी १७ र कप्तान नरेन भट्ट १३ रनमा पेभेलियन फर्के।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय रनको योगफल तयार पारेको थियो।
अफगानिस्तानका लागि फैसल शिनोजादले ८८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ९७ रन बनाए।
दोस्रो विकेटका लागि फैसल र ओपनर खालिद अहमदजईले १ सय ५४ रनको साझेदारी गरे।
ओपनर खालिद १ सय ७ बलमा ६ चौका मद्वतमा ७६ रन बनाए। बर्कत इब्राहिमजीले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रन जोडे ।
अजिज मिअया खिल २१, ओपनर उजेरउल्लाह नियाजी २४ रनमा आउट भए।
नजिफुल्लाह अमिरि १० रन बनाउँदै पेभेलियन फर्के। अब्दुल अजिज १५ रनमा नट आउट रहे।
नेपालका लागि सन्तोष यादवले १० ओभरमा ६४ रन खर्चिएर ३ विकेट लिए।
अभिषेक तिवारीले ८ ओभरमा ६१ रन खर्चिएर २ विकेट लिए। दयानन्द मण्डल तथा विपिन शर्माले समान १ विकेट आफ्नो नाममा गरे।
नेपाल र अफगानिस्तान छनोट अघि दुवै टोलीले ३ खेलको अभ्यास सिरिज खेल्न लागेका हुन्। एसिया छनोट आगामी साता नेपालमा सुरु हुँदैछ।
दोस्रो अभ्यास खेल आईतबार हुनेछ।
Shares

प्रतिक्रिया