खेल


दोस्रो खेलमै बन्यो आईपीएलको खराब कीर्तिमान, इङ्गल्याण्डका आर्चर बने भिलेन

दोस्रो खेलमै बन्यो आईपीएलको खराब कीर्तिमान, इङ्गल्याण्डका आर्चर बने भिलेन

नेपालखबर
चैत ११, २०८१ सोमबार १३:१६, काठमाडौँ

इङ्गल्याण्डका फास्ट बलर जोफ्रा आर्चरले चार ओभरमा बिनाविकेट ७६ रन दिएर इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सबैभन्दा खराब बलिङको कीर्तिमान बनाएका छन्। 

आर्चरले आइतबार सनराइजर्स हैदराबादले आईपीएलकै दोस्रो उच्च स्कोर बनाएको खेलमा राजस्थान रोयल्सको ४४ रनको पराजयकासाथ खराब रेकर्ड कायम गरे। आईपीएलमा खराब रेकर्ड यसअघि भारतका सिमर मोहित शर्माको नाममा थियो।

उनले २०२४ मा दिल्ली क्यापिटल्सविरुद्ध गुजरात टाइटन्सका लागि चार ओभरमा ७३ रन खर्चिएका थिए। 

टी-२० अन्तर्राष्ट्रिय इतिहासमा भने सबैभन्दा महँगो रेकर्ड गाम्बियाका मुसा जोबार्तेहका नाममा छ। उनले गत वर्ष जिम्बावेविरुद्ध ९३ रन दिएका छन्। श्रीलंकाका कसुन रजिथाले २०१९ मा अष्ट्रेलियाविरुद्ध बिनाविकेट ७५ रन दिएर टेस्ट राष्ट्रहरूको भिडन्तमा भने खराब रेकर्ड आफ्नो नाममा लेखाएका छन्। 

आईपीएलको दोस्रो खेलमा हैदरावादले ६ विकेटको क्षतिमा २८६ रन बनाएपछि आर्चर्सले क्रूर आक्रमणको सामना गर्नुपरेको थियो। यो स्कोर सनराइजर्सले गत वर्ष रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध बनाएको आईपीएलकै सर्वाधिक योगफलभन्दा मात्रै एक रनले कम हो। 

यो उच्च स्कोरको भिडन्तमा भारतीय ब्याट्सम्यान इशान किशनले ४७ बलमा ११ चौका र ६ छक्कासहित नटआउट १०६ रन बनाए। अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ३१ बलमा ६७ रन बनाएर विस्फोटक इनिङको सुरुवात गरेका थिए। 

हैदरावादले छ ओभरको पावरप्लेमा एक विकेट गुमाएर ९४ रन बनाएको थियो। राजस्थान विकेटका लागि संघर्ष गरिरहेको थियो। १५ औँ ओभरमा २०० रन पार गर्नु अघि दक्षिण अफ्रिकाका हेनरिक क्लासेनले १४ बलमा ३४ रन बनाउँदै किशनसँग आक्रामक साझेदारी कायम गरे।

जवाफी ब्याटिङमा ओपनर सञ्जु सामसन र ध्रुव जुरेलबीच चौथो विकेटको लागि १११ रनको साझेदारी गर्नु अघि नै राजस्थानले ५० रन बनाउँदा ३ विकेट गुमाएको थियो।

सामसनले ३७ बलमा ६६ र जुरेलले ३५ बलमा ७० रन बनाए। विशाल लक्ष्य नजिक पुग्ने संकेत राजस्थानले खेल दौरान देखाउन सकेन। अन्ततः राजस्थान ६ विकेट गुमाएर २४२ रनमा समेटिन पुग्यो। 

यो खेलमा हर्षल पटेलले हैदरावादका लागि ३४ रन खर्चिएर २ विकेट लिए। जबकि अष्ट्रेलियाका प्याट कमिन्सले ६० रन खर्चिएर विकेट लिन सकेनन्।

हैदरावाद २०२४ मा आईपीएलको फाइनलमा पुगेर कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। शनिबार साविक विजेता भने प्रतियोगिताको उद्घाटन खेलमा रोयल्स च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको छ।

आइतबारको दोस्रो खेलमा न्युजिल्याण्डका रचिन रविन्द्रले अविजित ६५ रन बनाउँदा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि चार विकेटको जित हात पार्‍यो। सोमबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्स भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad