प्रवास


पर्यटनमा सहकार्य नेपाल र म्यानमारको पारस्परिक हित : राजदूत घिमिरे

पर्यटनमा सहकार्य नेपाल र म्यानमारको पारस्परिक हित : राजदूत घिमिरे

नेपालखबर
चैत ११, २०८१ सोमबार १३:१८, यागौँन, म्यानमार

म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले पर्यटन र आईटीको क्षेत्रमा सहकार्य दुवै देशको पारस्परिक हितमा रहेको बताएका छन्।

म्यानमारस्थित नेपाली राजदूतावासले यागौँनमा (२१-२२ मार्च) गरेको दुई दिने ‘म्यानमार ट्रेड एन्ड टुरिजम एक्स्पो २०२५’मा राजदूत घिमिरेले यस्तो बताएका हुन्।

यसका लागि दुवै देशका सम्भावित व्यवसायीलाई एकै ठाउँमा ल्याएर सम्पर्क स्थापित गर्न एक्स्पो उपयुक्त प्लेटफर्म हुने राजदूत घिमिरेको धारणा थियो।

नेपाल र म्यानमारको ऐतिहासिक, धार्मिक सम्बन्धलाई अझ विस्तार गरी व्यापार, पर्यटन, व्यवसाय र जनस्तरको सम्बन्धका सम्भावित क्षेत्रमा साझेदारी सुदृढ गर्न दूतावासले निरन्तर एक्स्पो आयोजना गरेको पनि घिमिरेले बताएका थिए।

‘कमिङ टुगेदर फर ट्रेड एन्ड टुरिज्म प्रोमोसन’ नारा रहेको एक्स्पोमा नेपाल तथा म्यानमारबाट व्यापार, पर्यटन, ट्राभल्स एन्ड टुर्स र आईटी क्षेत्रसँग सम्बन्धित कम्पनीहरूले ५० बढी बुथ तथा स्टलमा आफ्ना वस्तु एवं सेवाको प्रदर्शनी गरेका थिए।

यसैगरी, कार्यक्रममा बोल्दै म्यानमारका वाणिज्य मन्त्रीले म्यानमारका जनताका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

नेपाल म्यानमारका जनताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै नेपाल र म्यानमारले पर्यटन क्षेत्रमा सहकार्यका लागि दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा उनले जोड दिएका थिए।

नेपाल म्यानमार चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्षहरूले पनि दुई देशबीच पर्यटन र सूचना प्रविधि व्यापारको सम्भावनामाथि जोड दिएका थिए।

झन्डै २५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा यागौँन क्षेत्रका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्रीलगायत उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति थियो।

साथै, बैंकिङ क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, व्यवसायीहरू, नेपाली समुदायका अगुवाहरूलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad