पहिलो लेगमा दुई गोलले पछि परेको फ्रान्स पेनाल्टीमा क्रोएसियालाई स्तब्ध पार्दै नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्रोएसियाले बिहीबार घरेलु मैदानमा २–० को अग्रता बनाएको थियो।
आइतबार राति खचाखच भरिएको स्टेड डे फ्रान्समा, डिडियर डेसच्याम्प्सको टोलीले दोस्रो लेगमा प्रभुत्व जमायो।
नाटकीय पेनाल्टी सुटआउटबाट अन्तिम चारमा स्पेनसँग भेट गर्नुअघि फ्रान्सले २ गोल गरेको थियो।
पहिलो हाफमा गोल गर्न नसकेको फ्रान्सका लागि ५२ औँ मिनेटमा माइकल ओलिसले गोल गर्दै खेलमा फर्किने संकेत गरे। माइकलले २५ यार्डबाट गरेको फ्रिकिक प्रहार गोलकिपर डोमिनिक लिभाकोभिकले नजिकबाट पनि बचाउन सकेनन्।
ओउसमान डेम्बेलेले ८०औँ मिनेटमा दोस्रो गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो। तर दुवै टोलीले गोन गर्न सकेनन्।
फ्रान्सका गोलकिपर माइक मैग्ननले मार्टिन बटुरिनाको पहिलो पेनाल्टी बचाए। फ्रान्जो इभानोभिकले प्रहार विफल भएपनि जुल्स काउन्डे र थियो हर्नान्डेज पनि गोल गर्न विफल भएपछि सडन डेथमा पुग्यो।
मैग्ननले जोसिप स्टानिसिकको प्रहार बचाएपछि फ्रान्सका डिफेन्डर डायोट उपमेकानोले ५–४ को सफलता दिलाउन निर्णायक गोल गरे।
२०२१ पछि दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको फ्रान्सले अब स्पेनको सामना गर्नेछ।
क्वार्टरफाइनल जितेसँगै फ्रान्स अजरबैजान, आइसल्यान्ड र युक्रेनसँगै विश्वकप छनोटको समूह ‘डी’मा जानेछ। अब क्रोएसिया चेक रिपब्लिका, फारो टापु, जिब्राल्टर र मोन्टेनेग्रोसँग समूह ‘एल’मा हुनेछ।
Shares

प्रतिक्रिया