नेपाल व्यायाम मन्दिरद्वारा आयोजित नेपालकै सर्वाधिक प्रतिष्ठित, पुरानो र ठूलो धनराशी पुरस्कार भएको ‘१७औँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुसंगठन प्रतियोगिता २०८१’ को प्रमुख उपाधिमा झापाका उमेश राईले बाजी मारेका छन्।
उनले ८० किलो माथिका विधामा गोर्खाली फिटनेसको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएका थिए।
प्रतियोगिता यही चैत ७, ८ र ९ गते तीन दिनसम्म चलेको थियो। हिजो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न ग्रान्ड फिनालेमा राईले निकटतम प्रतिद्वन्दी ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि चुमेका हुन्। प्रतियोगितामा दाङका माधव सुवेदीले तेस्रो स्थानमा चित्त बुझाएका थिए।
प्रतियोगिताका विजेताले ठूलै धनराशिको पुरस्कार हात परेका छन्। जसअन्तर्गत पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १२, ६ र ३ लाख नगद पुरस्कार पाएका छन्।

विजेता राईलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ट्रफी तथा चेक हस्तान्तरण गरेका थिए।
राई १६औँ संस्करण विजेता तथा डिफेन्डिङ च्याम्पियन समेत हुन्।
यसअघि नरेश महर्जन र सानु गुरुङले पनि दुई-दुई पटक उपाधि जितेका थिए। राई यसरी ब्याक टु ब्याक जित निकाल्ने तेस्रो बडीबिल्डर हुन्। झापाका राईको हाल बेलायतस्थित स्विन्डनमा बसोबास छ।
यसैगरी, महिला बडीबिल्डिङ खुलातर्फको प्रतिस्पर्धामा भक्तपुर डिस्पिराडोकी तारा खाइजुले प्रथम स्थान हासिल गरिन्। कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे र डिभाइन फिजिकल फिटनेसका उर्मिला श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो बने।

प्रतियोगिताको मास्टर्स खुलातर्फ नेपाल व्यायाम मन्दिरका किशोर शाही, काठमाडौँ जिमका राजकुमार शाही, नेपाल व्यायाम मन्दिरकै कृष्ण सिंह शाही क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। फिटनेस फयाक्ट्रिका खिमलाल पुन र नेपाल व्यायाम मन्दिरका सुरज श्रेष्ठले क्रमशः चौथो र पाचौँ स्थान सुरक्षित गरेका थिए।
छैटौँ स्थानमा तेक्वान्दोका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा आठौँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता, कमान्डो फिल्मका नायक राजकुमार राईले प्राप्त गरे।
नेपालका पहिलो बडीबिल्डर धर्मभक्त माथेमाको सम्झनामा यो प्रतियोगिता हुँदै आएको छ।


Shares

प्रतिक्रिया