प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ। पुलिसले लुम्बिनीलाई ८७ रनले हराएको हो।
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २४९ रन बनायो। दुई सय ५० रन बनाउने क्रममा लुम्बिनीको पारी १६२ रनमा समेटियो।
पुलिसका लागि कुशल भुर्तेल र आरिफ शेखले अर्धशतकीय पारी खेले। भुर्तेलले ७५ बलको सामना गर्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए। यस्तै शेखले ७९ बल खेल्दै ५६ रन बनाए। यसमा उनको दुई छक्का समेत सामेल थियो। यसैगरी गुलशन झाले अविजित ३६, दिलिप नाथले ३४ तथा अमित श्रेष्ठले २२ रन बनाए।
बलिङतर्फ पुलिस क्लबका करण केसीले तीन तथा ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए। सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात पदेश र तीन विभागीय टोली सहभागी छन्। राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्। रासस
Shares

प्रतिक्रिया