प्रधानमन्त्री कप–२०८१ छनोट क्रिकेट प्रतियोगिताको बुधवार भएको खेलमा झापा र सुनसरी विजयी भएका छन्। प्रादेशिक क्रिकेट सङ्घ कोसी प्रदेशको आयोजनामा विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको हो।
जित पछि झापाले ३ खेल खेल्दा २ मा जितसँगै एक खेलमा पराजित भएको छ। उसले ४ अंकका साथ तेस्रो स्थानमा सुरक्षित राखेको छ। इलाम ४ खेलमा १ जित र ३ खेलमा पराजित हुँदै २ अङ्क सहित चौथो स्थानमा रहेको छ।
टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय १४ रनको योगफल तयार पारेको थियो। इलामका लागि लव कामतले २७ रन बनाउँदा गौतम राईले २४ रनको योगदान दिए। झापाका प्लेयर अफ म्याच विपिनकुमार महतोले ३ विकेट लिए भनेँ ज्ञानबहादुर श्रेष्ठले पनि समान ३ विकेट लिए।
१ सय १५ रनको लक्ष्य पछ्याएको झापालले ३८ ओभरमा ४ विकेट गुमाई विजयी लक्ष्य भेट्टायो। झापाका समीर कार्कीले अविजित ३२ रन बनाउँदा अमन गोयलले २८ रनको योगदान गरे। इलामका गौरव भट्टराई, हेमल राई, श्याम यादव र लव कामतले १–१ विकेट लिए।
मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको अर्को खेलमा सुनसरीले घरेलु टाली मोरङलाई ४६ रनले पराजित गरेको छ। जित पछि सुनसरी ३ खेलमा तीनै खेल जितेर ६ अंककासाथ शीर्ष स्थानमा उक्लियो भने मोरङ ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ दोस्रोमा रहेको छ।
सुनसरीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ५४ रनको योगफल बनायो। सुनसरीका सुमन घरानीले ४७ रनको योगदान दिँदा गौरव कटवालले ४० रन बनाए। मोरङका प्रेम कामतले २ विकेट लिँदा श्रवण किस्कुले पनि २ विकेट नै लिए।
१ सय ५५ रनको विजयी लक्ष्य पाएको मोरङले ४१ ओभरमा सबै विकेट गुमाई १ सय ८ रन मात्रै जोड्न सक्यो। सुनसरीका प्लेयर अफ म्याच गौरव कटवालले ३ विकेट लिँदा प्रकाश कार्कीले पनि ३ विकेट लिए। लिगको आधारमा खेलाइएको खेलमा कोसी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी ५ टिम सहभागी छन्।
Shares

प्रतिक्रिया