प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताएका छन्।
बुधबार काठमाडौँमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने धम्क्याउने गरेको बताएका हुन्।
‘अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने, सत्य कुरा बोल्यो भने धम्क्याउने, धम्क्याउने पनि साधारण धम्की होइन, अत्यन्तै अमानवीय धम्की आउँछन्,' उनले भने, 'यस्ता असामाजिक खालका क्रियाकलापहरू मानवहरूका विरुद्ध छन्। हामी मानव अधिकार रक्षकहरूको, मानव अधिकारका लागि लड्ने योद्धाहरूको सम्मान गर्दछौँ। सुरक्षा प्रदान गर्दछौँ। उनीहरूको सुरक्षाका लागि सरकारले काम गर्दछ।'
यस्ता असामाजिक क्रियाकलापहरू मानव अधिकारको विरुद्ध रहेको जिकिर गरे। सरकारले मानव अधिकार रक्षकहरूको, मानव अधिकारका लागि लड्ने योद्धाहरूको सम्मान गर्ने पनि उनको भनाइ छ।
'कानुनमा कमी छ भने त्यस्ता कमीहरू सरकारले हटाउँछ र मानव अधिकारको रक्षा गर्दछ, मानव अधिकार डिफेण्डरको रक्षा गर्दछ,' उनले भने, 'मानव अधिकार हनन कर्ताहरूलाई कानुनको दायरामा ल्याउँछ। यो अहिलेको सरकारको मानव अधिकार सम्बन्धी नीति हो। थुप्रै अग्रजहरूले मानव अधिकारका निम्ति धेरै योगदान गर्नुभएको छ। उहाँको आदार, सम्मान गर्न चाहन्छु। इमान्दार भएर सही उद्देश्यका लागि संघर्ष गर्नु सजिलो छैन। संघर्षका नाममा नक्कली झ्याली पिटाउनु, झुट, भ्रम फिँजाउनु, भ्रमको बादल छर्नु सजिलो हुन्छ। तर निर्दिष्ट गन्तव्यका साथ अघि बढ्नु, त्यसका लागि संघर्ष गर्नु, भ्रम चिरेर सही बाटोमा देशलाई अघि बढाउनु सजिलो कुरा होइन।’
Shares

प्रतिक्रिया