१३ औँ धरान १०–के रनको उपाधिमा केन्याका धावकहरूले वर्चस्व जमाएका छन्। धरानमा आज बिहान सम्पन्न १० किलोमिटर रनमा पुरुष र महिला दुवै विधातर्फ केन्याका धावक च्याम्पियन बनेका छन्। पुरुष तर्फ ह्विल्सन चेउलियोट र महिलातर्फ शरन जेरोटिस प्रथम च्याम्पियन बनेका हुन। ह्विल्सनले निर्धारित १० किलोमिटर दूरी ३० मिनेट ५५ सेकेन्डमा पूरा गरे। महिला तर्फ शरनले ३८ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै विजेता बनेका हुन्।
चार हजार धावक धाविका सहभागी दौडमा पुरुषतर्फ केन्याकै जुलियस मौरीकी ३१ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए। उनी गत महिना सम्पन्न हिसान इटहरी रन च्याम्पियन समेत हुन। दुर्गाबहादुर बुद्धले ३२ मिनेट ४४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए।
महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुँदा दिपा परियारले ३९ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन। प्रथम, दोस्रो र तेस्रो विजेताहरूले क्रमशः नगद ६० हजार, ४० हजार र ३० रुपियाँ पुरस्कार पाए। उनीहरूलाई धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राईले पुरस्कार प्रदान गरे।
अन्डर १६ उमेर समूहमा पुरुषतर्फ ईश्वर राई प्रथम, सुवासकुमार बिके दोस्रो र बिकी यादव तेस्रो भए भने महिलातर्फ जुही राई प्रथम, कुशल राई दोस्रो र पूजा महत तेस्रो भइन। भेट्रान पुरुषतर्फ विजय कुमार राई प्रथम, राकेश महर्जन दोस्रो र रामचन्द्र श्रेष्ठ तेस्रो भए। महिलातर्फ जमुना लिम्बु प्रथम, सपना राई दोस्रो र सम्झना राई तेस्रो भए।
सुपर भेट्रान पुरुषतर्फ विजयकृष्ण तामाङ प्रथम, विजय सागर दनुवार दोस्रो र शिवकुमार राई तेस्रो भए। महिलातर्फ जमुना मोक्तान प्रथम, विष्णुमाया याक्खा दोस्रो र मनसा रार्ई तेस्रो भए।
मिड भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम, सुवर्ण सुब्बा दोस्रो र नाम्पर लेप्चा तेस्रो भए। मिड भेट्रान महिलामा अनुदा तामाङ प्रथम, होमादेवी पुन दोस्रो र शान्ता वानेम तेस्रो भए।

प्रतिक्रिया