युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शनिबार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताए। उनले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महशुस भएको बताए।
मधेस प्रदेशमा स्काउटको नेतृत्व गर्ने व्यक्तिहरु केही पनि नजान्ने र स्काउटसँग सरोकार नै नराख्ने किसिमका रहेको बताए। उनले आफ्नो कार्यकालमा स्काउटलाई राम्रो बनाउने प्रतिवद्धता जनाए।
मन्त्री चौधरीले भने, ‘हामी ७५३ वटा स्थानीय तहमा छौँ। अस्ति म जनकपुर जाने सिलसिलामा मधेस प्रदेशको अफिस गएको थिएँ। त्यो ठाउँ हेर्दाखेरी मधेस प्रदेशको स्काउटिङको अवस्था हेर्दा मैले साँच्चै यो देशमा स्काउट हराएको छ भन्ने महशुस भयो। हामी मधेसमा पढ्दा जुन किसिमको थियो, तराई मधेसमा अहिले स्काउटिङ तराई मधेसमा नेतृत्व लिने व्यक्तिहरुले स्काउटसँग कुनै सरोकार नराख्ने, हात मिलाउन पनि नआउने, केही नजान्ने रहेछन्। मधेस प्रदेशमा स्काउटको हालत छ, त्यो धेरै नै नराम्रो छ।’
मन्त्री चौधरीले स्काउटमा बारम्बार काम गर्न खोजे पनि काम हुन नसकेको स्वीकार गरे। स्काउटको नयाँ कार्यसमितिमा कुनै राजनीतिक दबाब बिना कर्मचारी ल्याएको बताए।
सार्वजनिक संस्थामा आउनेहरुले राजनीति गर्न नहुने उनको भनाई थियो। राजनीति गर्ने भए वडाध्यक्ष, सांसदमा प्रतिष्पर्धा गर्न आग्रह पनि गरे।
Shares

प्रतिक्रिया