खेल


राष्ट्रिय पुरुष रग्बी फागुन १६ र १७ गते, विदेशी खेलाडी पनि सहभागी हुने

राष्ट्रिय पुरुष रग्बी फागुन १६ र १७ गते, विदेशी खेलाडी पनि सहभागी हुने

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १९:३५, काठमाडौँ

गोर्खाली सेभन्स राष्ट्रिय पुरुष रग्बी प्रतियोगिता आगामी फागुनको तेस्रो सातामा चितवनको भरतपुरमा हुने भएको छ।

गोर्खाली रग्बी क्लबको आयोजना तथा नेपाल रग्बी संघका प्राविधिक सहयोगमा आगामी फागुन १६ र १७ गते चितवनमा गोर्खाली रग्बी सेभेन्स ट्रफी हुन लागेको हो। 

आयोजक गोर्खाली रग्बी क्लवले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी दियो। २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्दै आए पनि यसपल्ट आफैँ व्यवस्थित रूपले प्रतियोगिता सञ्चालन गर्न लागेको गोर्खाली रग्बी क्लवका अध्यक्ष रोहित कार्कीले जानकारी दिए। 

यस प्रतियोगितामा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लव र एपिएफसहित पाँच प्रदेशका साथै आयोजक गरी कुल आठ टोलीले प्रतिष्पर्धा गर्नेछन्।

एक विभागीय टोली नेपाल पुलिस क्लव भने आन्तरिक कारणले सहभागी नभएको आयोजक गोर्खाली क्लबका सचिव प्रेमबहादुर कोइरालाले जानकारी दिए। भरतपुरस्थित कृष्णपुर रंगशालामा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन्। 

कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको तयारीलाई लक्षित गरी यो प्रतियोगिता सञ्चालन गरिएको नेपाली राष्ट्रिय पुरुष रग्बी टोलीका पूर्वकप्तान तथा क्लबका उपाध्यक्ष कृष्ण थापा क्षेत्रीले जानकारी दिए। सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको छ।

अहिलेसम्म आयोजक गोर्खाली रग्बी क्लवले तीन जना विदेशी खेलाडी समावेश गर्ने तय भइसकेको छ। विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले भर्दना काउचरबाट एक सेट इटालियन सुट पाउने आयोजकले उल्लेख गरेको छ। खेल सञ्चालन गर्नका लागि विदेशी रेफ्रीलाई भित्राउने तयारी पनि भइरहेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ। दोस्रो संस्करणदेखि विदेशी क्लबलाई पनि भित्राउने आयोजकले जनाएको छ।

यसपल्ट अन्तिम समयमा तयारी गरेकाले विदेशी क्लव आउन नसकेको उनको भनाइ छ। आयोजकले पहिलोपल्ट रग्बीमा ठूलो धनराशिको प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ। 

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप), भरतपुर महानगरपालिका, प्रदेश खेलकुद विकाश परिषद् बागमती, चितवन मेडिकल कलेज, होलिडे ट्रिप नेपाल प्रालीलगायतको सहयोग रहनेछ। गोर्खाली क्लबबाट हालसम्म सेभेन्स र फिफ्टिन ‘ए’ साइडमा गरी कुल १२ जना खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएको आयोजकले जनाएको छ।

गोर्खाली क्लवले कर्णाली प्रदेशका विभिन्न स्थानमा स्वयम् सेवक प्रशिक्षक पठाएर त्यहाँ विभिन्न उमेर समूहका खेलाडी उत्पादन गरेको उल्लेख गरेको छ। त्यसका लागि कर्णाली प्रदेशसँग दुई वर्षको सहकार्यका लागि सम्झौता पनि गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad