आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औँ संस्करणले नयाँ च्याम्पियन पाएको छ।
पोखरा रगंशालामा शनिबार भएको फाइनलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले पहिलो सहभागितामा नै च्याम्पियन बनेको हो।
आहा रारामा दोस्रो पटक विदेशी टोली च्याम्पियन बनेको हो। यसअघि अफ्रिकन युनाइटेड क्लब २०६२ सालमा च्याम्पियन बनेको थियो।
उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पुलिस क्लबले ६ लाख १ हजार रुपैयाँमा चित्त बुझायो।
आहा रारामा ब्ल्याक बुल्स नयाँ च्याम्पियनको रुपमा उदाउँदा नेपाल पुलिस क्लब भने ११ औँ फाइनलमा उपविजेतामा सिमित बनेको हो।
आहा राराको इतिहासमा मनाङ र पुलिस क्लबले सर्वाधिक ६ पटक उपाधि जितेका छन्। थ्री स्टारको नाममा ५ वटा उपाधि रहेको छ। संकटा क्लब दुई पटक च्याम्पियन बन्दा आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ र त्रिभुवन आर्मी क्लबले समान एक पटक उपाधि उचालेका छन्। प्रतियोगिताको उपाधिमा ह्याट्रिक पुलिस एक मात्र टोली हो। पहिलो र दोस्रो संस्करणको विजेता पुलिस २०६४ पछि लगातार तीन वर्ष च्याम्पियन बनेको थियो।
पाँच वर्षपछि आहाराराको फाइनलमा पुगेको पुलिस क्लब पाचौँ पटक उपविजेतामा सिमित बनेको हो। यसअघि सभापति कप, बुढासुब्बा, भरतपुर गोल्डकप गरि तिन प्रतियोगितामा लगातार पहिलो खेलमा नै पराजित हुँदै बाहिरिएको पुलिस क्लब आहा राराको भने फाइनलमा सम्म पुगेको थियो। उज्वेकिस्तानको टोलीसँग पराजित भएपछि पुलिस क्लब किर्तिमान बनाउने सुन्दर अवसरबाट टाढिएको हो।
पुलिस क्लबका लागि शिशिर चौधरीले गरेको गोल शान्त्वना बन्यो। ७४ औँ मिनेटमा उज्वल राइको फ्रिकीकमा शिशिर चौधरीको हेडर गोलमा पुलिस क्लब खेलमा फर्कने संकेत गरेपनि ढिला भएको थियो।
दोस्रो हाफमा सभ्कात्जोन सत्तारोभको गोलमा ब्ल्याक बुल्सले पुलिस क्लबविरुद्ध ३–० को आरामदायी अग्रता बनायो।
त्यसअघि खेलको ५९ औँ मिनेटमा असिलबेक ओरिफजोनोभको गोलमा ब्ल्याक बुल्सले अग्रता दोब्बर पार्यो। अजिजबेकको क्रसलाई नियन्त्रणमा लिर्दै असिलबेकले गोल गरेका थिए।
पहिलो हाफको ४० औँ मिनेटमा कप्तान जाकोन्गिर अक्माडोभको फ्रिकीकमा ब्ल्याक बुल्सले सुरुवाती अग्रता बनाएको थियो। ३९ औँ निेटमा पुलिस क्लबका प्रज्वल चौधरीले ब्ल्याक बुल्सका खेलाडीलाई फाउल गरेपछि पाहुना टोलीले फ्रिकीकको मौका पाएको थियो। जुन अवसरलाई कप्तानले खेल जान दिएनन्। उनको शसक्त फ्रिकीक प्रहार पुलिस क्लबका गोलरक्षक शत्रुधन चौधरीले बचाउने क्रममा पहिलो बारको जालीमा लाग्दै गोलमा परिणत भएको थियो।
त्यसअघि खेलको तेस्रो मिनेटमा नै पुलिस क्लबका सुनिल तामाङको क्रसमा मनिष सेडाइको हेडर ब्ल्याक बुल्सका गोलरक्षकले पन्च गर्दै जोगाउँदा अग्रताको सुन्दर मौका गुमायो। खेलको १५ औँ मिनेटमा सुनिलको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। २२ औँ मिनेटमा विवेक पाण्डेको फ्रिकीक ब्ल्याक बुल्सका डिफेन्डरले क्लीयर गरेका थिए।
Shares

प्रतिक्रिया