खेल


नेपाली क्रिकेटलाई एउटा दुर्घटनाबाट बचाएर अर्को डिलमा छाडिदिए मोन्टीले

मुख्य प्रशिक्षकको खोजीमा क्यान
नेपाली क्रिकेटलाई एउटा दुर्घटनाबाट बचाएर अर्को डिलमा छाडिदिए मोन्टीले

लक्ष्मी जि.सी
माघ २२, २०८१ मंगलबार १३:३०, पाेखरा

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नयाँ मुख्य प्रशिक्षकको खोजी सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले अब बस्ने बोर्ड बैठकमा यसबारे छलफल अगाडि बढाउने अध्यक्ष चतुरबहादुर चन्दले बताए। 

केहीदिन अघि मात्रै क्यानले मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो। २ वर्षे कार्यकाल सकेर मोन्टी बिदा भएका छन्। ‘अब बोर्ड बैठक बस्छौँ र त्यसबारेमा छलफल गर्छौँ, समय लिएरै निर्णयमा पुग्छौँ। त्यसभन्दा अगाडि अनौपचारिक रूपमा छलफल हुनसक्छ,’ अध्यक्ष चन्दले नेपालखबरसँग भने, ‘एउटा प्रशिक्षकको बिदाइसँगै अर्को मुख्य प्रशिक्षक राख्नै पर्छ।’

अहिलेसम्म भने प्रशिक्षकका रूपमा कसैसँग पनि कुरा अगाडी नबढिसकेको चन्दले बताए। ‘विभिन्न समयमा विभिन्न खालको भूमिका हुन्छ। मोन्टीको एउटा समयमा आवश्यकता थियो। उहाँले त्यो समयमा योगदान दिनुभयो। अब २ वर्षका लागि पनि समय सापेक्ष नै प्रशिक्षक ल्याउँछौँ’, अध्यक्ष चन्दले भने। 

नेपाली क्रिकेट टिमको तत्काल ठूला प्रतियोगिता टुंगो नलागिसकेकाले पनि क्यानले समय लिएरै प्रशिक्षक राख्ने उनको भनाई छ। क्यानले प्रशिक्षकको छनोट आपसी समझदारी र आवेदन माग गरेर पनि गर्न सक्छ। यी दुवै विकल्पमा जान सकिने चन्दले बताए।

यसअघिका प्रशिक्षक मोन्टीलाई क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै धन्यवादसहित बिदाइ गरेको जानकारी गराएको थियो। त्यसको भोलिपल्ट अर्थात् आइतबार मोन्टीले पनि सामाजिक सञ्जालमा लामो सन्देश छाडे।

प्रशिक्षक मोन्टीले नेपालबाट आफ्नो बिदाइ नभएर धन्यवाद भएको भन्दै दुई वर्षे कार्यकाल अविस्मरणीय र ऐतिहासिक उपलब्धिहरूले भरिएको क्षणको रूपमा सम्झिएका छन्। 

सन् २०२३ को जनवरी १० मा मोन्टी नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

जुन समय नेपाली क्रिकेट संकटको समयमा थियो। २०७९ को फागुनमा मोन्टीले नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा नेपाल आईसीसी लिग–२ को छनोट मात्र हैन, एक दिवसीय मान्यता पनि गुमाउने अवस्थामा पुगिसकेको थियो। 

विश्वकप छनोट त परको कुरा ओडीआई मान्यता जोगाउन सके पनि नेपालका लागि ठूलो उपलब्धि हुने अवस्थामा मोन्टीले नेपाली टोली सम्हालेका थिए।

आफ्नो कार्यकालको पहिलो वर्षमा उनले गुम्न लागेका यी सबै उपलब्धि फर्काइदिए। मोन्टीको आगमनपछि नेपाल टी-२० विश्वकप र एसिया कपमा छनोट हुन सफल भयो।

एकदिवसीय मान्यता पनि जोगियो। विश्वकप लिग २ मा १२ खेल खेल्दा नेपालले ११ खेलमा सफलता प्राप्त गर्‍यो। जसले लिग २ को शीर्ष ३ मा रहँदै नेपाल सिधै विश्वकप छनोटमा पुग्न सफल भयो। १० वर्ष पछि नेपाल विश्वकपको मैदानमा फर्कियो। 

मुलपानी क्रिकेट मैदानमा युएईलाई हराउँदा नेपालले अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपका लागि स्थान पक्का गरेको थियो।

मोन्टीकै नेतृत्वमा नेपालले भारत र पाकिस्तान जस्ता क्रिकेटका पावरहाउसहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पनि बनायो। विश्वकपमा दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदा र बंगलादेशलाई कडा टक्कर दिँदै नेपाली क्रिकेटले अर्को उचाइमा पुगेको सन्देश छाड्यो।

नेपाल आएको १ महिनामै मोन्टीको चमत्कार देखियो। जुन एक वर्षसम्म लगातार उकालो लाग्यो। 

सुरुको वर्ष मोन्टीले नेपाली टोलीलाई उच्च लयमा फर्काए। टोलीमा सकारात्मक माहौल बनाए। त्यतिबेला कप्तान रोहित पौडेलले मोन्टीको आगमनले टोलीमा मानसिक रूपमा खेलाडीहरू बलियो देखिएको र आत्मविश्वास बढेको बताएका थिए। नभन्दै उक्त कुरालाई नतिजाले नै पुष्टि गरिरहेको थियो। 

नेपाली टोलीमा देखाएका गुट उपगुटलाई मोन्टीले एकजुटमा परिणत गरिदिए। खेलाडीबिचको विवाद सतहमा कहिल्यै आएन। ह्याप्पी ड्रेसिङ रुम, वन बल ब्याटलको मन्त्र सार्थक साबित भयो।

तर, तीनै प्रशिक्षक मोन्टीले अघिल्लो वर्षको लयलाई पछिल्लो समय कायम राख्न सकेनन्। पछिल्लो समय मोन्टीकै नेतृत्वमा नेपालले एकपछि अर्को असफलता भोग्दै गएको छ। लिग २ का १२ खेलमा नेपालले २ खेलमा मात्रै जित हात पारेको छ। बाँकी १० खेलमा २ खेल अनिर्णीत भए भने ८ खेलमा हार बैहोर्नपर्‍यो।

एसीसी प्रिमियर कपको साविक विजेता नेपाल फाइनलमा पुग्न असफल भयो। जसले गर्दा एसिया कप पनि गुमाउन पुग्यो।

तेस्रो स्थानका लागि हङकङसँग पनि पराजित हुँदा इमर्जिङ एसिया कप खेल्नबाट पनि वञ्चित भयो। यी नतिजाले नेपाली क्रिकेटलाई मात्रै ओरालो लगाएन मुख्य प्रशिक्षकमा मोन्टीको विकल्प खोज्न क्यान बाध्य हुँदै गयो।

मोन्टीको नेतृत्वमा नेपालले ३७ एक दिवसीय खेलमा २० जित र १५ हारको सामना गर्दा दुई खेल अनिर्णीत भए। ३९ टी-२० अन्तर्राष्ट्रियमा पनि २१ जित र १६ हारको नतिजा सामना गर्दा दुई खेलको निर्णय भएन। 

क्यानका प्रवक्ता छुम्बी लामा दुवै पक्षको सहमतिमा नै सम्झौता नवीकरण नगरेको बताउँछन्। नेपाली क्रिकेटको स्तर बढिरहेकाले अब सोही अनुसारको नयाँ प्रशिक्षक ल्याउने लामाको दाबी छ। उनले मोन्टीको नेतृत्वमा नेपालले प्राप्त गरेका उपलब्धिको भने खुलेर प्रशंसा गरे।

मोन्टी यू-१९ र राष्ट्रिय टोलीको ब्याटिङ कन्सल्टेन्ट हुँदै मुख्य प्रशिक्षक भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad