गण्डकी


बाँदर आतंक घटाउने जुक्ती: गर्भनिरोधक औषधि र रेस्टुराँ

बाँदर आतंक घटाउने जुक्ती: गर्भनिरोधक औषधि र रेस्टुराँ

वाशुदेव मिश्र
साउन १०, २०८३ आइतबार १७:१४, पोखरा

बाँदरले बाली सखाप पारेपछि कास्कीको पूर्वी भेगमा पर्ने रुपा गाउँपालिकाका किसानले खेतीपाती छाडे।

खेती छाडेपछि बसाइँसराइ बढ्यो। गाउँ रित्तिन थाले।

किसानको समस्या नजिकबाट नियालेका गाउँपालिका अध्यक्ष नवराज ओझाले पालिकाको नेतृत्व सम्हाल्नासाथ बाँदर समातेर अन्यत्र पठाउने योजना बुने।

आर्थिक वर्ष २०७४/०७५ को बजेटमा बाँदर धपाउनकै निम्ति १० लाख रुपैयाँ विनियोजन गरियो। नेपालमा बाँदर समात्ने विज्ञ थिएनन्, भारतबाट विज्ञ ल्याइयो।

करिब ६ सयजति बाँदर समातेर चितवन र बर्दिया निकुञ्जमा छाडियो। केही दिन त हाइसञ्चो भयो तर समस्या फेरि बल्झियो, जग्गा बाँझो छाड्ने क्रम पुन: बढ्यो।

बाँदर लाग्न नछाडेपछि रुपा गाउँपालिकाले अघिल्लो वर्षदेखि नयाँ जुक्ती लगाएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत् घोषणा गर्‍यो– बाँदरको प्रभावलाई न्यूनीकरण गर्न बाँझो खेतमा बाँदरले असर नपार्ने नगदे बाली भन्ने नाराका साथ बाँदरले असर नपार्ने मसलाजन्य नगदेबाली (अदुवा, लसुन, टिमुर,  हलेदो) लगाउन र युवाहरूलाई आयआर्जनमा जोड्न खाली जग्गामा मसलाजन्य बाली उत्पादनलाई प्रोत्साहित गरिने छ।

अनुदानको समेत व्यवस्था गरिएपछि किसानहरू अदुवा, टिमुर, लसुन, हलेदो रोप्न उत्साहति बने। अध्यक्ष ओझाका अनुसार आर्थिक वर्ष २०८३/०८४ मा यो कार्यक्रमलाई निरन्तरता दिँदै लगभग ४ हजार ५०० रोपनीमा मसलाजन्य बाली विस्तार गर्ने लक्ष्य लिइएको छ। त्यसका लागि पालिकाले ८५ लाख रुपैयाँ विनियोजन गरेको छ।

‘राति जंगलमा बस्ने  र दिउँसो खेतबारी तथा घरैमा आएर अन्नबाली र फलफूल खाइदिने एवं अन्य तरिकाबाट नष्ट गरिदिने बाँदरलाई समातेर अन्यत्र लैजानु सजिलो काम रहेनछ,’ अध्यक्ष ओझाले भने, ‘यो ज्यादै चुनौतीपूर्ण रहेछ। भारतको उत्तरप्रदेशबाट मान्छे झिकाएको विशेष खालको जालीमा बाँदरलाई फसाएर गाडीमा राखेर अन्यत्र लगेर छोडिएको हो तर समस्या फेरि बल्झेपछि बाँदरले नखाने खेती प्रवर्द्धन थालिएको हो।’

रुपा गाउँपालिकाले २०७४ मै सुरु गरेको बाँदर नियन्त्रणको प्रयासलाई पछिल्लो समय देशैभर अनुशरण गरिएको छ। यही वर्ष खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँँदर धपाउन ४५ लाख रुपैयाँ विनियोजन गरेपछि यो विषयले राष्ट्रिय चर्चा पायो।

बाँदरको विषय संसदमा उठ्यो तर बाँदर नियन्त्रण कसरी सम्भव छ भन्नेबारे अहिलेसम्म ठोस निष्कर्ष र कार्ययोजना बन्न सकेको छैन। समस्याले राष्ट्रिय रूप लिएको छ।

बाँदरकै कारण कतिले जग्गा बाँझै छाडेका छन्।

पर्वतको कुश्मा ९, ज्ञादीका १५ परिवारले विगत ६ वर्षदेखि जेठ दोस्रो सातादेखि असार दोस्रो सातासम्म बाँदर धपाउने पालो लगाउँदै आएका छन्।

पैंयु गाउँपालिकाले पनि बाँदरको लागि ३५ जना हेरालोको व्यवस्था गरेको थियो तर आतंक रोकिएन।

हेरालो राखेर बाँदर आतंक रोक्न सकिए पनि निमिट्यान्न पार्न नसकिने रुपाका अध्यक्ष ओझाको बुझाइ छ। मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको नयाँ रणनीतिले मात्र यो समस्या समाधान गर्न सकिने उनले बताए।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाले मानव–बाँदर द्वन्द्व न्यूनीकरणका उपाय खोज्ने क्रममा टिम अर्गनाइजिङ लोकल इन्स्टिच्यूसन (टोली) नामक गैरसरकारी संस्थामार्फत् एउटा अध्ययन गरेको छ।

सो अध्ययन प्रतिवेदनले बाँदर आतंक बढ्नुका कारणसहित बाँदर–मानिसबीच द्वन्द्व कम गराउने उपायसमेत सुझाएको छ।

पोखरा महानगरका वडाहरूलाई केन्द्रमा राख्दै गरिएको अध्ययन एवं सुझावहरू देशैभर काम लाग्ने आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाको भनाइ छ।

नेपालका बाँदरहरू
महानगरको अध्ययन प्रतिवेदनअनुसार नेपालमा रेसस रातो, आसमी रातो र लंगुर गरी मुख्य ३ प्रजातिका बाँदर पाइन्छन्।

यीमध्ये आसमी रातो बाँदर संरक्षित वन्यजन्तुको सूचीमा छ। सन् २०१३ मा गरिएको अर्को एक अध्ययनका अनुसार रेसस रातोका १, आसमीका २ र लंगुर बाँदरको ३ प्रजाति पाइएको छ।

नेपालको ४४ प्रतिशत क्षेत्रफल रेसस रातोका लागि उपयुक्त छ। रेसस प्रजातिको बाँदर समुद्र सतहदेखि ३ हजार मिटरभन्दा तलको भागसहित उष्ण, उपोष्ण तथा शितोष्ण जलवायु क्षेत्रमा पाइन्छ।

यसका बथान ठूलो हुन्छ। यो प्रजातिका बाँदरको खान्कीको मुख्य स्रोत रुख हो भने झाडी र घाँस पनि यसको आहारामा पर्छ। रेसस रातो बाँदर अपराह्नमा भन्दा बिहान बढी सक्रिय हुन्छ।

एसियाको ब्रह्मपुत्र नदीको उपत्यकामा आसमी रातो बाँदर समुद्र सतहको १५ मिटरदेखि ३ हजार ५ सय मिटरको उचाइमा पाइन्छ।

शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि आसमी रातो बाँदरको खानाको व्यवहारबारेको एक अध्ययनका अनुसार यो जातको बाँदरले  वनस्पतिको अन्य भागको तुलनामा फलफूल मन पराउँछ। आसमी रातो बाँदरका बथानहरू सानो हुने पनि अध्ययनको निष्कर्ष छ।

हनुमान लंगूर बाँदर समुद्र सतहको १२३ मिटरबाट ३ हजार ७९८ मिटरसम्म पाइएको छ। यो जातको बाँदर धेरैजसो जंगलमा बस्दछ र रेसस रातो बाँदरको तुलनामा बस्न र खानाको लागि वनमा नै बढी निर्भर हुन्छ। यसले ३३ प्रजातिका वनस्पती खाएको देखिन्छ।

यी ३ वटै बाँदरका प्रजातिहरूले बाली नष्ट गर्ने र खाने गरे पनि समस्या चाहिँ रेसस रातो बाँदर देखिएको छ।

अर्को एक प्रतिवेदनअनुसार बाँदरबाट सबैभन्दा बढी अर्थात् ५३ प्रतिशत नोक्सान मकै बालीमा भएको पाइएको छ भने गहुँमा २३, धानमा १५ र अन्य (आलु, फलफूल, तोरी, कोदो, जौँ) कोसेबालीमा ८ प्रतिशत क्षति पुर्‍याएको छ।

बाँदरले के खान्छ?
बाँदरलाई सबैभन्दा मन पर्ने फलफूल मेवा, उखु, अम्बा र केरा हो। पाकेको सुन्तला, आँप, लिची पनि यसले उत्तिकै खाने गर्छ।

तरकारीमा घिरौँला, मुला, आलु, काँक्रो, इस्कुस, फर्सी, लौका, काउली, गाजर, चिचिण्डो, सलगम बढी मन पराउँछ।

बाँदरले फलफूलका साथै रुख विरुवाका मुना पनि खान्छ। कोसेबालीमा भटमास बाँदरको प्रिय हो भने त्यसपछि सिमी, बोडी, मास, मस्याङ रहेका छन्।

बकुल्ला बाँदरले कम रुचाउने गरेको पाइएको छ। तर हुल पसेपछि सकेसम्म खाने र नखाए पनि उखेल्ने गरेको पाइएको छ।

बाँदरले बेडुलो, सिमल, कुरिलो, पाखुरी, बाँस, निगालो, चिलाउनेको गेडा, कटुस, ऐसेलु, पैयुँ, आरु, बर, पिपल, बडहर, नास्पति, कुटमेरो, बादलको मुना, चिलाउनेको मुना, खनियो, अम्रिसो, टाँकी, सिल्टुमुर, पिपल, समीको गेडा, फर्सीको मुना, फूल भएका वनस्पतिहरूमा बारमासे, काब्रो, सिमल, स्वस्थानी, फलेदो, कोइरालो, पैयुँ, आरु, तोरी, नास्पती, अम्बा, तिजु, टाँकीसमेत खाने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

अध्ययनको क्रममा केही किसानले अम्बा, सिमल, दालचिनी, उत्तिस र लहरे वनस्पतिका पनि बोक्रा पनि बाँदरले खाने गरेको बताएका थिए।

बाँदर किन गाउँ पसे?
बाँदर गाउँ पस्नुको मुख्य कारण वनमा खानेकुराको कमी नै हो। त्यसका साथै जलवायु परिवर्तनका कारण तापमान नदी किनार वा पुरानो वासस्थानमा तापमान बढ्दा पनि बाँदरहरूले पुरानो ठाउँ छाडेका हुन्।

वनमाराजस्ता वनस्पति बढ्नुलाई पनि बाँदरले वन छाड्नुको अर्को महत्त्वपूर्ण कारण ठानिएको छ।

पोखरा महानगरको अध्ययन प्रतिवेदनको उपक्रममा किसानहरूले वनमा सल्ला, सिसौ, धुपी आदि वृक्षरोपण गरिँदा, सामुदायिक वन उपभोक्ता समूहले वन व्यवस्थापन नगर्दा मिचाह प्रजाति बढ्दा अनि वनमा बाँदरका सत्रुहरू चितुवा, बाघ, हनुमान लंगुर बढेकाले पनि बाँदर गाउँ पसेको बताएका छन्।

पोखरा–२१, शिवालय टोलका बासिन्दाहरूले कृष्ति नाच्नेचौरदेखि निर्मलपोखरी तथा भरतपोखरीको क्षेत्रमा सडक निर्माण गर्दा कम्तीमा पनि १ सयभन्दा बढी बर, पिपल र समीका चौताराहरू मासिए,  सयौं आँपका रुखहरू नष्ट भएको बताए।

उनीहरूका अनुसार ती वनस्पतिहरूमा फल फल्दा बाँदरहरू ती फल खान व्यस्त हुन्थे, वनमा फलफूल फल्दा बालीनालीमा बाँदरको प्रवेश न्यून हुन्थ्यो। एउटा चौताराको बरपिपलमा फलेको फलले एक हुल बाँदरलाई ३ महिनासम्म खान पुग्थ्यो तर आज न वनमा फलफूल फल्छन्, न बरपिपल नै छन्। त्यसैले पनि बाँदरद्वारा हुने बालीनालीको क्षति तीव्ररुपमा बढेको स्थानीयवासी बताउँछन्।

गाउँहरू खाली हुँदा, जमिन बाँझो हुँदा र बाँससहित अन्य प्रजातिका रुखहरू घर वरपर बढ्दै जाँदा पनि बाँदरहरू गाउँमै रत्तिने अवस्था आएको हो।

पोखरा–२४, ठूलीपोखरीका किसानहरूको भनाइले पनि यो कुराको पुष्टि गर्छ।

बाँदरले दु:ख दिएपछि कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेका कृष्ण सुवेदीले केही वर्षअघि प्रतिघर तीन हजार रुपैयाँ उठाएर रुख काटछाँट गर्ने अभियान चलाए।

विभिन्न अधिकारकर्मीहरूले विरोध गरेपछि कृष्ण प्रहरी हिरासतमा पनि पुगे। तर अभियानले बाँदरबाट हुने क्षति चाहिँ कम भएछ।

त्यो सफल अभ्यासको पोखरा–२४ का बासिन्दाले पनि अनुशरण गरे। ठूलीपोखरी, नेपालीटोल आदिका समुदायहरूले प्रतिघर ३ हजारको दरले जम्मा १ लाख ६० हजार रुपैयाँ उठाएर मेसिन खरिद गरी बाँसको झ्याङ र निजी जग्गामा रहेका पाखुरी र बाँसका ५ मिटर माथिका भाग काँटछाँट गर्ने अभियान चलाएका छन्।

उनीहरूका अनुसार १०/१० मिटरको फरकमा रुखको दूरी कायम गर्न सकेमा बाँदर एक रुखबाट अर्को रुखमा उफ्रेर जान नसक्ने अनि बाँदर आउन निरुत्साहि हुँदो रहेछ।

आफ्नै अनुभव
यो पंक्तिकारको अनुभवमा अहिले हाम्रा सामुदायिक र अन्य वनहरू मिचाहा प्रजातिका वनस्पति ह्वात्तै बढेको छ।

अहिले वनमा मानिस पशुहरूको गतिविधि कम भएको छ। दाउरा काट्ने, वन गोड्ने वा गाईवस्तुको लागि वनका डाले घाँस काट्ने प्रवृत्तिमा कमी आउँदा ती मिचाहा वनस्पति झांगिँदै गएका छन्।

बाँदरले बच्चालाई असाध्यै माया गर्छ। उसले बच्चालाई कोखमा बोकेर हिँड्नेमात्र नभएर रुखका हाँगाहरूमा पिङ खेल्न पनि सिकाउँछ। कहिलेकाहीँ हाँगामा झुण्डिने क्रममा बाँदरका बच्चाहरू झाँङमा खस्छन्।

काँडे वनमारा वा अन्य यस्तै प्रजातिको झाँङमा खसेपछि बाँदरको बच्चा बाहिर आउन सक्दैन। त्यसपछि माउ बाँदरहरू आत्तिन्छन्। बच्चालाई बाहिर निकाल्ने जुक्ती लगाउँछन्।

अड्किएको बच्चा फुत्कन कहिले दिनभर लाग्छ भने कयौँ अवस्थामा त्यहीँ भोकभोकै मर्ने अवस्था आउँछ। त्यो संकटले माउ बाँदरलाई दु:खी तुल्याउँछ/असुरक्षित महसुस गराउँछ।

त्यसपछि नेपालको संकटापन्न राउटे जातिले बालबच्चा बितेपछि वन छाडेजस्तै त्यो क्षेत्र छाड्छ।

मिचाहा प्रजातिका वनस्पतिहरू काँटछाँट गर्ने हो भने वनमा बाँदर फर्कने सम्भावना रहेको यो पंक्तिकारको बुझाइ छ।

यद्यपि यसबारे गहिरो र प्रामाणिक अध्ययन जरुरी छ। यही वर्ष संघीय सरकारले नीति तथा कार्यक्रमको बुँदा नम्बर २२ मा जंगलमा रहेका मिचाहा वनस्पतिबाट बिक्रेट र जैविक मल बनाउने योजना अगाडि सारेको छ। आशा गरौँ, यो कार्यक्रम कार्यान्वयनमा आए बाँदर वन फर्कने छन्।

हिजो धर्मको नाममा चौतारा चिनिन्थ्यो। गाउँ पस्ने ठाउँतिर बनाइएका चौताराहरूले मान्छेलाई शीतलमात्र दिँदैनथे, बाँदरको हुललाई त्यतै भुलाउन पनि काम लाग्थे।

चौतारा नजिकै पोखरी खन्दा त्यसले पनि बाँदरलाई भुलाउँथ्यो। उता हिन्दु मान्यताअनुसार बरपिपलबाट छुट्याएर समी रोप्ने गरिन्थ्यो। समीको रुख खेतको पुछारतिर रोपिन्थ्यो।

झाँगिएको समीका गेडा खाँदै, हाँगाहाँगा भाँच्दै बाँदरहरू त्यहाँ भुलेपछि बालीनालीमा क्षति कम हुन्थ्यो। यो नपढाएको तर असल अभ्यासलाई छाड्दा पनि बाँदरहरू गाउँ पसेका हुन्।

के गर्ने त?
महानगरको प्रतिवेदनले मानव–बाँदर द्वन्द्व न्यूनीकरण अध्ययन टोलीले बाँदर आतंकबाट मुक्तिका निम्ति केही उपायहरू सुझाएको छ।

बाँदरबाट बालीनालीमा हुने क्षति कम गराउनका लागि कृषक समूह, सहकारी र कृषक फर्ममार्फत् बाँदरले नखाने मसलाजन्य बाली प्रवर्द्धन गरिनुपर्ने प्रतिवेदनको सुझाव छ।

रुपा गाउँपालिकाले कार्यान्वयनमा ल्याइसकेको बीउ उपलब्ध गराउने, बजारीकरणमा सघाउनेजस्ता योजनाहरू यसमा समेटिएका छन्।

सिजन अनुसारका बीउ र बिरुवाको अलावा किसानलाई बाँदर भगाउनका निम्ति कुकुरपालन, गुलेलीजस्ता बाँदर भगाउन प्रयोग हुने घरेलु सामग्री अनुदानमा दिनुपर्ने प्रतिवेदनको सुझाव छ। बाख्रा र भैंसीपालनलाई प्रवर्द्धन गर्नुपर्ने पनि प्रतिवेदनको सुझाव छ।

बाँदर बगैँचा
प्रतिवेदनले वस्ती र आवादी भएको खेतभन्दा १ किलोमिटर टाढा नै बाह्रै महिना फल्ने फलफूलसहितको बाँदर बगैँचा निर्माणको अवधारणा पनि अगाडि सारेको छ।

‘खेतबारीभन्दा करिब १ किमी टाढाको सार्वजनिक करिब २ हेक्टर जग्गामा बाह्रै महिना फल्ने बाँदर बगैँचा लगाउन सकियो भने केही हुल बाँदरहरूलाई यसले बाह्रै महिना खाना उपलब्ध गराउन सक्दछ। यदि यो प्रयोग प्रभावकारी भयो भने अन्य स्थानमा पनि यो बाँदर बगैँचा अवधारणालाई फैलाउन सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

बगैँचामा बरपिपल, कटुस, च्युरी, पाखुरी, असुरो, डुम्री, जामुन, गुलाब जामुन, गोलकाँक्री, खनियो, बेडुलो, किम्बु, बाँदरको मकै, सिमल, काभ्रो, नेमारो, अर्चल, गिट्ठा, रुद्राक्ष, कोइरालो, तेजपत्ता, दमौरा, भ्याकुर, लप्सी, ठोट्ने, राजवृक्ष, थाक्कल, सिमल, तरुल, आँप, मयल, कपुर, धयरी, इस्कुस, बाँस, तिजु, भोर्ला, भक्याम्लो, तरुल, काफल, ताडी, भलायो, ऐसेलु, अंगेरी रोप्न पनि प्रतिवेदनले सुझाएको छ। बगैँचामा सानो पानीपोखरी निर्माणको पनि सुझाव दिइएको छ।

‘सामुदायिक वनका उपभोक्ता समूहलाई बाँदर मैत्री वन व्यवस्थापनसम्बन्धी तालिम दिने जसमा बाँदरले खाने फलफूल, मुना, फूल, बोक्रासमेतको पहिचान समेत गर्ने र सो लाई प्रवर्द्धन गर्नका लागि जानकारी दिने,’ प्रतिवेदनमा भनिएको छ।  

बाँदर रेष्टुराँ
प्रतिवेदनले बाँदरलाई भुलाउन छुट्टै रेष्टुराँको पनि प्रस्ताव गरेको छ। 

पोखरामा रहेका फलफूल बजार तथा पसलहरूबाट बिक्री नभएका फलफूल खरिद गर्ने तथा फलफूल बाँदरलाई उपलब्ध गराउने प्रस्तावित योजनामा भनिएको छ, ‘पोखरा ९ मा रहेको शान्ति वनस्थित एक हेक्टर क्षेत्रफलमा बाँदरको लागि आरामदायी ढंगले फलफूल तथा तरकारी खान मिल्ने गरी बस्ने प्रबन्ध गर्ने। बाँदरको लागि खाने तथा स्नान गर्ने पानी अति महत्त्वपूर्ण भएकाले एउटा सानो सफा पोखरीको व्यवस्था गर्ने।’

यो कार्यका लागि महानगरको आर्थिक महाशाखाले सहयोग गर्नुपर्ने पनि प्रतिवेदनमा सुझाइएको छ।

नमुना कार्यक्रम सफल भएमा देशका अन्य भागमा पनि यस्ता रेष्टुराँ राख्न सकिने अनि बाँदर रहेको ठाउँलाई बाँदर अवलोकन केन्द्रको रूपमा विकास गर्न सकिने पनि प्रतिवेदनले जिकिर गरेको छ।

बन्ध्याकरण
प्रतिवेदनले पोखरा–२१, हर्राबोटका किसानले प्रयोगमा ल्याएको बाँदर छोप्ने खोर बनाउने अनि खोरमा परेका बाँदरलाई लट्ठ्याएर भेटेरीनरी प्राविधिकद्वारा बन्ध्याकरण गर्ने व्यवस्था मिलाउन पनि भनेको छ।

यस्तै बाँदरलाई खानाबाट गर्भनिरोधक औषधिहरू प्रोगोस्टिन वा इस्ट्रोजन र प्रोगोस्टिन दुवै मिलाएर खुवाउँदा संख्या नियन्त्रण गर्न सकिने सुझाव पनि दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad