काठमाडौँबाट प्रहरीले सुन जस्तो देखिने धातुसहित एक महिलालाई पक्राउ गरेको छ।
अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर ल्याइएको सुन जस्तो देखिने धातुसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङ छिन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनको साथबाट सुन जस्तो देखिने रिङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औँठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन जस्तो देखिने धातु बरामद गरिएको प्रहरीले जनाएको छ।
थाई एयरको उडानमार्फत् बैङककबाट काठमाडौँ आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेलगेट नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
Shares

प्रतिक्रिया