खेल


आउटडोरमा चित्त बुझाउँदै गण्डकी भलिबल, कहिले बन्छ इन्डोर हल?

आउटडोरमा चित्त बुझाउँदै गण्डकी भलिबल, कहिले बन्छ इन्डोर हल?

टाइगर कपमा भिड्दै गण्डकीको टोली।


लक्ष्मी जि.सी
माघ २२, २०८१ मंगलबार ९:६, काठमाडौँ

घरेलु भलिबलमा ३ विभागीय टोली (पुलिस, आर्मी र एपीएफ) बाहेक सफल चर्चित क्लब सीमित छन्। गण्डकी प्रदेशको टोली त्यसमध्येको एक हो। प्रदर्शनका कारण विभागीय टिमपछि आउने गण्डकी समर्थकले पछ्याउनेमा भने सम्भवतः सबैभन्दा अगाडि छ।

तर, यसका आफ्नै सीमितता र बाध्यता छन्। टाइगर ग्रुप अफ पोखराले आयोजना गर्ने टाइगर कपमा गण्डकीले पाँचौँ संस्करणसम्म आइपुग्दा पटक–पटक फाइनल खेलेको छ। त्यसमा दुईपटक त च्याम्पियन नै बनेको थियो।

पोखरामा अब्बल देखिने गण्डकी प्रदेशको टोली काठमाडौंमा भने त्यही प्रदर्शनलाई निरन्तरता दिन असफल हुँदै आएको छ। केही महिनाअघि काठमाडौंमा भएको काभा क्लब च्याम्पियन्सिपमा टोलीको प्रदर्शन सन्तोषजनक भएन। त्यसको एउटा मुख्य कारण गण्डकीले इन्डोर हलमा आउटडोरको जस्तो प्रदर्शन गर्न सक्दैन। पोखरामा भलिबलको इन्डोर हल नहुँदा गण्डकीको टोली आउटडोरमा प्रशिक्षण गर्न बाध्य छ।

नेपालमा भलिबल लोकप्रिय खेलमध्ये पर्छ। त्यसमाथि राष्ट्रिय खेल घोषणा भएको पनि ७ वर्षभन्दा बढी भइसकेको छ। तर, काठमाडौंमै पनि भलिबलको आफ्नै कभर्ड हल छैन। यस्तोमा पोखरामा हुने त परको कुरा भइहाल्यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नै नेपाल भलिबल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ।

त्यो बहुउद्देश्यीय कभर्ड हल भलिबल संघले मात्र चाहेको बेला प्रयोग गर्न पाउँदैन। अन्य संघहरुसँग संयोजन गरेर कार्यक्रम नजुध्ने गरी गर्नुपर्ने बाध्यता छ।

कभर्ड हल बनाउनुपर्ने चर्चा काठमाडौंमा उठ्न थालेको वर्षौँ भए पनि त्यसका लागि सिन्को पनि भाँचिएको छैन। गण्डकीमा त कभर्ड हल आवश्यक छ भन्ने चर्चा पनि भएको छैन।

गण्डकीको भलिबलसँग जोडिएकाहरु कभर्ड हल अत्यावश्यक छ भन्न थालेका छन्। तर त्यो आवाज पनि मसिनो गरी मात्रै। खासमा भलिबल इन्डोर गेम हो। तर, नेपालमा अधिकांश खेल आउटडोरमा नै हुने गरेको छ। त्यसको एक मात्र कारण भौतिक संरचनाको अभाव हो।

गण्डकी प्रदेश भलिबलको उर्वरभूमि हो। तत्कालीन पश्चिमाञ्चल हुँदै अहिलेको अवस्थामा आइपुग्दा भलिबलको क्रेज उस्तै छ। यसको पछिल्लो उदाहरण हो, पोखरामा आइतबार सकिएको टाइगर कप भलिबल प्रतियोगिता। हजारौँ दर्शकको उपस्थिति फाइनल खेल भयो। नियमित रुपमा भइरहेको टाइगर कपको पाँचौँ संस्करणमा महिलातर्फ आयोजक र पुरुषमा पुलिस क्लब पहिलोपटक च्याम्पियन बने।

चिसोको मौसम भए पनि मध्याह्न र दिउँसोको घाममा दर्शक खेलको आनन्द लिइरहेका थिए। त्यो समयमा गण्डकी प्रदेशका खेलाडी र दर्शकको मनमा भने एउटा इन्डोर कभर्ड हल बनिदिए केही सहज हुने आशा थियो। 

त्यसो त भलिबल नेपालको राष्ट्रिय खेल हो। 

यस्तोमा गण्डकी प्रदेश पनि पोखराको रंगशालास्थित खुला कोर्टको नै भर पर्दै आइरहेको छ। रंगशालाको हाताभित्र नै बहुउद्देश्यीय इन्डोर हल छ तर भलिबलका लागि त्यो हल विरलै प्रयोग हुन्छ। 

इन्डोर हल बनाउनका लागि टाइगर ग्रुप अफ पोखराले स्थानीय निकायलाई गुहारिरहेको छ। तर त्यो गुहार अहिलेसम्म कुनै निकायले सुनेका छैनन्। 

‘भलिबल इन्डोर खेल भए पनि बाहिर खेलाउन बाध्य छौँ। पोखरामा इन्डोर कभर्डहलको व्यवस्था छैन’, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्मा भन्छन्, ‘इन्डोर कभर्डहलका लागि सरोकारवाला निकायका साथै स्थानीय, प्रदेश र केन्द्र सरकारलाई विनम्र अनुरोध गरिरहेका छौँ। भावी दिनमा यस्ता प्रतियोगिताभित्र खेलाउन पाइयोस्!’

यस्ता प्रतियोगिता इन्डोर कभर्ड हलमा खेलाउन पाउने हो भने दर्शक र खेलाडी सबै अझ उत्साहित हुने विश्वास शर्माको छ।

गण्डकी प्रदेशबाट भलिबल करियर सुरु गरेका इम राना भलिबलमा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा टोलीको कप्तान थिए। पुलिस क्लब हुँदै राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी निर्वाह गरेका उनी पनि पोखरामा अन्तर्राष्ट्रियस्तरको कभर्डहलको आवश्यकता देख्छन्।

उनी भन्छन्, ‘गण्डकी प्रदेशका दर्शकलाई हेर्दा इन्डोर हलको एकदम आवश्यकता छ। यद्यपि आउटडोरमा पनि दर्शकहरु मिलेर खेल हेर्छन्। गण्डकी प्रदेशको मुख्य राजधानी यही हो र भलिबलको उर्वर क्षेत्र भएका कारण पनि अन्तर्राष्ट्रियस्तरको कभर्डहलको आवश्यकता छ।’ 

एक समय गण्डकी प्रदेशका महिला र पुरुष खेलाडीले नै विभाग र राष्ट्रिय टोली धानेका थिए। तर अहिले त्यो संख्या सीमित बन्दै गइरहेको छ। त्यसको एक कारण पूर्वाधार पनि रहेको जानकार बताउँछन्। 

रमेश केसी अहिलेका सफल भलिबल प्रशिक्षकमध्येका एक हुन्। नेपालको यू२० पुरुष टोलीका प्रशिक्षक उनी गण्डकी प्रदेशका मुख्य प्रशिक्षक हुन्। 

उनी भन्छन्, ‘इन्डोर हलमा प्रशिक्षण गर्न पाउने हो भने काठमाडौंमा खेल्न र सफलता पाउन सहज हुन्छ। तर बाध्यता र विडम्बना यसरी नै काम चलाउनुपर्ने अवस्था छ। कुनै निकायले इन्डोर हल बनाइदिने हो भने खेलाडीलाई सहज हुनेछ।’

नेपाली महिला भलिबल टोलीकी कप्तान तथा सेटर अरुणा शाही पोखरामा इन्डोर हल हुने हो भने नेपालमा खेल्न आउने विदेशी खेलाडीलाई पनि सहज हुने विश्वास गर्छिन्। 

‘इन्डोर हल नहुँदा यस्तो घाममा पनि दर्शकहरु बस्नुभएको छ। विदेशी खेलाडी पनि इन्डोरमा खेलिरहेको हुन्छ’, उनी थप्छिन्, ‘उनीहरुलाई पनि यहाँ आएर खेल्न गाह्रो हुन्छ। सम्बन्धित निकायले यो स्थानलाई सुधार गर्नुपर्छ जस्तो लाग्छ।’

पोखरा रंगशाला हातामा रहेको बहुउद्देश्यीय कभर्डहल भए पनि गण्डकी प्रदेशका खेलाडी बाहिर रहेको कोर्टमा प्रशिक्षण गरिरहेका हुन्छन्।

सीमित लगानी र कमजोर पूर्वाधारका बाबजुद गण्डकी प्रदेशको पुरुष टोलीले सफलता दिलाइरहेको छ। भलिबलको उर्वर ठाउँ भनेर गर्व मात्र गरिरहँदा दिनप्रतिदिन खेलाडी पलायन भइरहेका छन्। टाइगर कपमा आफ्नै प्रदेशका खेलाडी राखेर च्याम्पियन बनेको गण्डकीले यसपटक फाइनल पुग्दा टोलीमा ३ विदेशी खेलाडी राखेको थियो। यसले पनि गण्डकीको अवस्थालाई थप उजागर गर्छ।

गण्डकी प्रदेशमा खेलाडी उत्पादन र भलिबलमा उनीहरुलाई टिकाइराख्न सम्बन्धित निकायले पूर्वाधार निर्माणमा लगानी गर्न अब ढिला गर्न नहुने खेल क्षेत्रका जानकारहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad