विभागीय टोली एपीएफ भलिबल क्लब पोखरामा जारी पाचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताबाट बाहिरिएको छ।
बुधबार दिउँसो भएको पुरुषतर्फको पहिलो खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबसँग ३–२ को सेटमा पराजित हुँदै एपीएफ प्रतियोगिताबाट बाहिरिएको हो।
सुरुवाती दुई सेट लगातार हेल्प नेपाललाई सुम्पेको एपीएफले उत्कृष्ट पुनरागम गर्दै खेलमा फर्किएको थियो। तर पाचौँ तथा अन्तिम सेटमा पराजित हुदा प्रतियोगिताबाट नै बाहिरिन पुग्यो।
हेल्प नेपालले पहिलो र दोस्रो सेट लगातार २५–२२ र २९–२७ ले आफ्नो पक्षमा पारेको थियो। तर तेस्रो र चौथो सेट भने १३–२५ र २३–२५ ले एपिएफले आफ्नो पक्षमा पार्न सफल भयो।
पाचौँ सेटमा हेल्प नेपालले १५–१२ ले जित दर्ता गर्यो।
हेल्प नेपालले अब लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्नेछ। यी दुई टोलीबीचको सोमबार स्थगित भएको थियो। यो खेलको विजेताले एलिमिनेटर खेल्नेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।
आजै भएको पुरुषतर्फको दोस्रो खेल भने खराब प्रकाशका लागि स्थगित भएको छ। भारतको सुनिल क्लब र त्रिभुवन आर्मीबीचको खेल चौथो सेट सुरु हुने समयमा स्थगित भएको हो।
भारतको सुनिल क्लबले २–१ को सेटमा अग्रता बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएको हो।
स्थगित भएका दुबै खेल बिहिबार हुनेछन्।
Shares

प्रतिक्रिया