खेल


एपीएफलाई उपाधि दिलाउँदै फुटबलबाट बिदा भइन् कप्तान अनु (तस्बिरहरू)

एपीएफलाई उपाधि दिलाउँदै फुटबलबाट बिदा भइन् कप्तान अनु (तस्बिरहरू)

तस्बिरहरूः सरोज नेपाल


लक्ष्मी जि.सी
माघ १६, २०८१ बुधबार १६:३२, काठमाडौँ

इन्जुरी समयको अन्तिम मिनेटमा करियरको अन्तिम गोल गर्दै एपीएफ फुटबल क्लबकी कप्तान अनु लामाले बुट थन्क्याएकी छिन्। 

एन्फा महिला लिग अन्तर्गत बुधबार पुलिस क्लबविरुद्धको फाइनल खेल अनुका लागि विभागीय जर्सीमा अन्तिम पटक थियो। संयोग विभागीय जर्सीमा अन्तिम खेलको अन्तिम मिनेटमा गोल गर्दै रगंशालाई चुम्दै अनुले बिदाइका हात हल्लाइन्।

राष्ट्रिय टोलीबाट औपचारिक बिदाइ लिन नपाउँदै बाहिरिएकी अनु पछिल्लो समय विभागीय जर्सीमा घरेलु मैदानमा देखिन्थिन्। सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपमा अनु औपचारिक बिदाइ लिन चाहान्थिन्। तर उनले टोलीमा स्थान बनाउन नसक्दा साफ चलिरहेकै बेला सन्यास घोषणा गरेकी थिइन्।

तर काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा नेपाल पुलिस क्लबलाई ४-० ले हराउँदै एपीएफले उपाधि जितेसँगै अनुले लामाले फुटबलबाट औपचारिक बिदाई लिइन्।

अनुलाई एपीएफका अन्य खेलाडीले ‘गार्ड अफ अनर’ सम्मान दिँदै बिदाई गरे। सन्यासका क्रममा अनु मैदानमा नै भावुक बनेकी थिइन्।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अहिले पाइरहेको सफलताको मुख्य हकदार हुन् अनु लामा पनि। अनुलाई राष्ट्रिय टोलीको जर्सी पनि यसरी नै थन्क्याउने रहर थियो। तर त्यो सपनालाई उनले विभागीय जर्सीमा नै भएपनि केही हदसम्म पूरा गरिन्। 

सन् २०१० मा राष्ट्रिय टोलीमा डेब्यू गरेकी अनुको नाममा ३५ गोल रहेको छ। नेपालका लागि उनले अन्तिम पटक सन् २०१६ मा १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा ३५ गोल गरेकी थिइन्।
 
उनी सावित्रा भण्डारी साम्बा पछि नेपालका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन्। नेपालका लागि ५४ गोल गरेकी साम्बा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्।

रमाइलोका लागि झुम्रो र प्लाष्टिकको बल बनाएर खेल्ने अनुलाई यो कतिबेला नसा बन्यो थाहा छैन।

मकवानपुरमा जन्मिएकी अनुको बाल्यकाल मामाघर सिन्धुलीमा बित्यो। त्यसपछि उनको रौतहट बसाइ सर्‍याे। उनी पनि परिवारसँगै रौतहट पुगिन्। अनिमात्र उनको खेल जीवनले पनि औपचारिक सुरुवात पायो।


पुरुष टोलीमा गोलरक्षक बस्दा फुटबलर हुने सपना देखेकी अनु विभागीय टोली हुँदै राष्ट्रिय टोलीसम्म पुगिन्। बाल्यकालमा पुरुष टोलीको गोलरक्षक हुँदै अग्रपक्तीमा क्षमता देखाउन थालिन्। 

अनि प्रशिक्षकले पनि उनलाई फरवार्ड खेल्न सुझाव दिए। त्यसपछि उनी गोल गन्न थालिन्। विभागीय टोलीबाट कति गोल गरिन् एकिन छैन। 

विभागमा जोडिएपछि उनी गोल गन्नुभन्दा टोलीलाई उपाधि दिलाउन लागिन्। उनको कप्तानीमा एपीएफले सात पटक महिला लिगको उपाधि उचालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad