एन्फा महिला लिगको अन्तिम चरणअन्तर्गत लिगको अन्तिम खेलमा एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराएको छ।
एपीएफ लगातार आठौं जित निकाल्न सफल रहयो। जारी लिगमा आर्मी एपीएफसँग हारेको यो तेस्रो पटक हो।
सातदोबाटो स्थित एन्फा खेल मैदानमा बुधबार भएको खेलमा पहिले अग्रता एपीएफले बनायो। २३ औं मिनेटमा प्रीति राईको फ्रि-किकमा रश्मिकुमारी घिसिङले गोल गरिन्।
एपीएफले ३८ औैं मिनेटमा अग्रता दोब्बर गर्यो। रश्मिको असिस्टमा कप्तान अनिता बस्नेतले गोल गोल गरिन्। पहिलो हाफ २-० को नतिजामा सकियो।
विभागीय डर्बीमा आर्मीको लागि ८३ औं मिनेटमा अमिशा कार्कीले एक गोल फर्काइन्। तर यो जितको लागि प्रयाप्त भएन्।
यसअघि नै पहिलो क्वालिफायरका लागि छनोट भएको शीर्ष टोली एपीएफले २४ अंक र दोस्रो स्थानको आर्मीले १६ अंक बटुल्यो।
एपीएफले आर्मीलाई दोस्रो चरणमा २-१ ले र अन्तिम चरणको पहिलो लेगमा ३-१ ले हराएको थियो।
अब क्वालिफायरमा पनि एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। एलिमेनेटरमा भने नेपाल पुलिस क्लबको सामना बागमती युथ क्लबले गर्नेछ।
Shares

प्रतिक्रिया