खेल


महिला र पुरुष दुवै टोली आज खोखो विश्वकपको फाइनल खेल्दै

नेपाललाई इतिहास रच्ने अवसर
महिला र पुरुष दुवै टोली आज खोखो विश्वकपको फाइनल खेल्दै

नेपालखबर
माघ ६, २०८१ आइतबार ७:३४, काठमाडौँ

नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन्। आज दुवै टोलीले खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार राति ७ बजे र पुरुष फाइनल राति सवा ८ बजेदेखि सुरु हुनेछ। 

शनिबार भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले हराएर फाइनलमा स्थान बनाएको हो। 

यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन। 

महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो।  

नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो। नेपाली महिला टिमले भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलङ्कालाई ११०–१० र बङ्गलादेशलाई ८४–२४ ले हराएर समूह ‘सी’को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो। त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा १०३–८ ले हराएको थियो। 

नेपालको महिला टिमले युगान्डाविरुद्ध पहिलो डिफेन्स गर्ने निर्णय गरेको थियो। तीन ड्रिम अङ्कसहित नेपालले इरानलाई पहिलो ‘टर्न’ मा १२–३ मा सीमित पार्‍यो । दोस्रो ‘टर्न’ मा अट्याकको पालोमा नेपालले ३६ अङ्क जोडेको थियो। दोस्रो ‘टर्न’ सकिँदा नै ३९–१२ स्कोरसहित नेपाल जितनजिक पुगिसकेको थियो। 

तेस्रो ‘टर्न’ मा नेपालले उत्कृष्ट डिफेन्स गर्दै थप आठ अङ्क जोड्यो भने अट्याक गर्ने युगान्डलाई मात्र छ अङ्क बनाउन दिएको थियो। त्यसपछि चौथो ‘टर्न’ मा नेपालले निरिह बनिसकेको युगान्डाविरुद्ध थप ५० अङ्क थपेको थियो।

सो खेलमा वजिरको भूमिकामा रहेकी नेपाली खेलाडी पूजा ओड सर्वश्रेष्ठ खेलाडी घोषित भएन्। यसै गरी नेपालकै दीपा विके उत्कृष्ट डिफेन्डर चुनिइन्। पुरुषतर्फ पहिलो सेमिफाइनलमा यस प्रतियोगितामा अपराजित इरानलाई सजिलै हराएर सबैलाई आश्चर्यमा पार्‍यो। 

नेपालको पुरुष टिम भने उद्घाटन खेलमा भारतसँग प्रतिस्पर्धात्मक स्कोरमा ४२–३७ ले पराजित भएको थियो। त्यसपछिका खेलमा भने नेपालले पेरु, ब्राजिल, भुटान र बङ्गलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो। 

टस जितेर पहिलो टर्नमा डिफेन्स गर्ने निर्णय गरेको नेपालले इरानलाई आठ अङ्कमा रोक्यो भने आफूले तीन ड्रिम रन अङ्क प्राप्त गरेको थियो। त्यसपछि दोस्रो ‘टर्न’ मा नेपालले इरानलाई आठ अङ्कमै रोकेर आफ्नो स्कोर ३५ पुर्‍याएको थियो। तेस्रो टर्नमा इरानले अट्याकमा केही सुधारिएको प्रदर्शन गरी १२ अङ्क जोड्यो। नेपालले सो टर्नमा पनि एक ड्रिम रन बनाएको थियो। तेस्रो टर्न सकिँदा नेपालले ३६–२० ले फराकिलो अग्रता बनाइसकेको थियो। 

नेपालले चौथो टर्नमा इरानका थकित खेलाडीलाई थप निरिह पार्दै थप ३६ रन थप्यो। सो खेलमा नेपालका जनक चन्द सर्वश्रेष्ठ खेलाडी र सुरज पुजारा उत्कृष्ट डिफेन्डर भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad