समाज


म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

नेपालखबर
माघ ६, २०८१ आइतबार ८:०, म्याग्दी

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ। रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ।

नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो। बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए। रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम) का अनुुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन्।

‘एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ’, उनले भने, ‘एक जना अनमीले एकाइबाट सेवा दिने व्यवस्था मिलाएका छौँ।’ स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिइने वडाध्यक्ष पाइजाले बताए।

आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ। यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो। नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ। 

वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad