सन् २०२० मा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्तामाउले बेइज्जतीपूर्वक पद छाड्नुपरेको थियो। एकपछि अर्को खराब निर्णय गरेका उनले क्लबलाई टाट पल्टाइको सँघारमा पुर्याएका थिए।
तर, पद छाडेको एक वर्षपछि उनले दाबी गरेका थिए– मैले छाड्दाभन्दा क्लबको हालत अहिले खराब छ।
वर्तमान अध्यक्ष जोन लापोर्ताले त्यसलाई झुट भन्दै खारेज गरे।
तर, अहिले हेर्दा बार्सिलानोको स्थितिमा ज्यादा सुधार भएको देखिँदैन। किनकि यतिबेला आफ्ना खेलाडी दर्ता गर्न नसक्दा बार्सिलोनाले लज्जास्पद स्थितिको सामना गरिरहेको छ।
आइतबार लालिगा र स्पेनिस फुटबल फेडेरेसनले संयुक्त रूपमा ड्यानी ओल्मो र पाउ भिक्टरको दर्ता प्रस्ताव अस्वीकार गरेका छन्। यद्यपि, बार्सिलोनाले अदालतको ढोका ढक्ढक्याउने बताइएको छ।
२६ वर्षीय ओल्मो गत अगस्टमा लाइप्जिगबाट बार्सिलोनामा अनुबन्धित भएका थिए। उनलाई बार्सिलोनाले ६ करोड युरोमा भित्र्याएको थियो।
उनलाई किन्ने बेलामै बार्सिलोनाले त्यति महँगा खेलाडी धान्न नसक्ने चर्चा भएको थियो। तैपनि खेलाडी खरिद र तलबसमेत गरी १० करोड डलरभन्दा बढी खर्चिने बार्सिलोनाको तत्परताले धेरैलाई चकित तुल्याएको थियो।
खेलका हिसाबले ओल्मो बार्सिलोनालाई चाहिएका खेलाडी थिएनन्। बार्सिलोनामा ओल्मोले खेल्ने अट्याकिङ मिडफिल्डभन्दा अन्य पोजिसनमा खेलाडीको ज्यादा आवश्यकता थियो। त्यसमाथि वित्तीय हिसाबले पनि बार्सिलोनाले वार्षिक रूपमा खर्च गर्न पाउने रकमभन्दा ज्यादा खर्च गरिरहेको थियो।

तथापि, अध्यक्ष लापोर्ता र स्पोर्टिङ डाइरेक्टर डेकोले जोड गरेर उनलाई भित्र्याए। समस्या उनलाई दर्ता गर्ने बेला भयो। त्यतिबेला डिफेन्डर आन्द्रेस क्रिस्टेनसन लामो समयलाई घाइते भएपछि ओल्मोलाई उनको ठाउँमा दर्ता गरियो।
त्यो आपतकालीन उपाय मात्र थियो। अहिले क्रिस्टियन ठिक भएसँगै लालिगाको वेबसाइटमा उनी देखा परेका छन्, ओल्मोको प्रोफाइल गायब भएको छ।
बार्सिलोनालाई आफ्नो खाताको सन्तुलन मिलाउन नियामकहरूले चार महिनाको समय दिएका थिए। त्यो अवधिमा लापोर्ता र डेकोले बारम्बार ३१ डिसेम्बर २०२४ अघि नै ओल्मो र भिक्टरलाई दर्ता गरिने दाबी गरिरहे।
तर, नतिजा त्यसो भएन। विभिन्न रिपोर्टहरूका अनुसार नयाँ क्याम्प नु रंगशालाको भीआईपी सिट एउटा कतारी कोषलाई १० करोड डलरमा २० वर्षका लागि बेच्न बार्सिलोना सहमत भएको छ। तैपनि उनीहरूलाई दर्ता गर्ने बार्सिलोनाको दुवै प्रयास बेकार भयो। बार्सिलोनाले खेलाडी दर्ताका लागि पालना गर्नुपर्ने कुनै पनि सर्त पूरा नगरेको नियामकहरूको भनाइ छ।
उता अदालतबाट पनि ज्यादा राहतको सम्भावना नरहेको बताइन्छ। किनभने यी दुई खेलाडी दर्ताका लागि बार्सिलोनाले गरेको अनुरोध दुईवटा अदालतले अस्वीकार गरिसकेको छ।
अहिलेका लागि दुई खेलाडीको करिअर नै ठप्प देखिएको छ। दर्ता नै नभएको अवस्थामा उनीहरू ऋणमा अन्य क्लबमा खेल्न पनि जान सक्दैनन्।
ओल्मोको क्लबसँगको सम्झौतामा उनलाई दर्ता गर्न नसके उनले आफूखुसी क्लब छाड्न सक्ने सर्त छ। तर, उनले क्लब छाड्ने कुनै मनसाय नबनाएको उनका एजेन्टले बताएका छन्।

सिजनको अन्त्यपछि खेलाडी दर्ता गर्न सके पनि बार्सिलोनाको प्रतिष्ठामा भने गम्भीर धक्का लागेको छ। त्यस्तै, अध्यक्षका रूपमा लापोर्ताको हैसियत पनि खुम्चेको छ। उनको कार्यशैलीलाई लिएर धमाधम प्रश्न उठिरहेका छन्।
नयाँ प्रशिक्षक हन्सी फ्लिक भित्र्याएर सिजनको राम्रो सुरुवात गरेको क्लबको पछिल्लो प्रदर्शन पनि सन्तोषजनक छैन। त्यसलाई क्लबको अव्यवस्थाले थप असर गर्न सक्छ। एजेन्सी
Shares

प्रतिक्रिया