खेल


प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, खेल तालिका सार्वजनिक

प्रधानमन्त्री कप महिला क्रिकेट बैतडीमा हुने, खेल तालिका सार्वजनिक

नेपालखबर
पुस १५, २०८१ सोमबार १०:२७, बैतडी

प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता बैतडीमा हुने भएको छ। 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार प्रतियोगिता यही पुस १९ गतेदेखि  बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा हुने भएको हो।

दशरथचन्द क्रिकेट मैदानमा नेपाल क्रिकेट सङ्घको सहयोगमा दुईवटा टर्फपीच निर्माण गरिएको छ। टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लोस्तरमा खेल्न सहयोग पुग्ने भएकोले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए।  

पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा क्रिकेट सङ्घमा आवद्ध प्रदेश– ८ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक रमेशबहादुर बोहराले जानकारी दिए। उक्त छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।

सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयो । समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला रहेका छन् । समूह ‘बी’ मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ।

पुस १९ गते हुने उद्घाटन खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा सोही दिन हुने अर्को खेलमा डोटी र बझाङ  खेल्नेछन् ।पुस २० गते हुने पहिलो खेलमा डोटी र अछाम तथा दोस्रोमा बैतडी र बझाङ भिड्नेछन् । पुस २१ गते पहिलो खेलमा बैतडी र डोटी तथा दोस्रोमा अछाम र बझाङबीच प्रतिस्पर्धा हुनेछ। 

पुस २२ गते  पहिलो खेलमा समूह ‘ए’ मा रहेको कैलाली र कञ्चनपुर तथा दोस्रोमा डडेल्धुरा र दार्चुला खेल्नेछन् । पुस २३ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा तथा दोस्रोमा कैलाली र दार्चुलाबीच भिडन्त हुनेछ।

पुस २४ गते हुने पहिलो खेलमा डडेल्धुरा र कैलाली तथा  दोस्रोमा कञ्चनपुर र दार्चुला आमनेसामने  हुनेछन् । पुस २५ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को विजेताबीच फाइनल भिडन्त हुनेछ। 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले बताउनुभयो ।  प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad