खेल


यू-१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु

यू-१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु

नेपालखबर
पुस ११, २०८१ बिहिबार १०:१२, काठमाडौँ

महिला यू-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु भएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो।

आगामी माघ ५ गतेदेखि महिला यु-१९ विश्वकप प्रतियोगिता मलेसियामा हुँदैछ। त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने महिला यु–१९ का प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिए। 

बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उनले बताए। टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको जानकारी दिए।
 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताइन्। 

नेपाल क्रिकेट सङ्घ (क्यान)का उपध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताए। 

उनले सन् २०२७ मा नेपालमा हुने महिला यु-१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न क्यान सकारात्मक रहेको पनि बताए।

बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली यही पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ। नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बङ्गलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग स्पर्धा गर्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad