खेल


फाइनलअघि सुदूरपश्चिमको आत्मविश्वास उच्च, ब्याटिङ सुधार्न के गर्दैछ जनकपुर?

यी हुन् दुवै टोलीका सबल र दुर्बल पक्ष
फाइनलअघि सुदूरपश्चिमको आत्मविश्वास उच्च, ब्याटिङ सुधार्न के गर्दैछ जनकपुर?

अनिल यादव
पुस ५, २०८१ शुक्रबार २२:४९, काठमाडौँ

शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग–एनपीएलको उपाधिका लागि भिड्दैछन्। शुक्रबार कीर्तिपुरको टीयू क्रिकेट मैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान हातमा हात मिलाउँदै एकसाथ उभिए। उनीहरू दुवैको एकै स्वर थियो, ‘हामी फाइनलका लागि तयार छौँ।’ 

लिग चरण र क्वालिफायर गरेर दुईपटक जनकपुरलाई सानदार हराएको सुदूरपश्चिमको आत्मविश्वास उच्च छ। यद्यपि दुईपटक हराएको टिम भन्दैमा जनकपुरलाई कमजोर आँकेर खेल्ने पक्षमा छैन सुदूरपश्चिम। कप्तान दीपेन्द्रसिंह ऐरी भन्दै थिए, ‘फाइनल भए पनि हामीले यसलाई एउटा खेलको रूपमा लिएका छौँ। लिगमा खेलेका खेल जस्तै मनोविज्ञान बोकेर खेल्छौँ। जित र हार भन्ने आफ्नो ठाउँमा छ। तर, आफ्नो शत प्रतिशत दिएर खेल्छौँ।’

उता जनकपुर अघिल्ला खेलमा भएका गल्ती सुधार्ने रणनीतिमा छ। सुदूरपश्चिम बलियो टोली हो र उससँग सामना गर्न उत्कृष्ट प्रदर्शन दिनैपर्छ भन्ने पक्षमा छ। 

‘टि–ट्वान्टी फर्म्याट नै यस्तै हो। कुन दिन के हुन्छ, भन्नै सकिन्न,’ अनिल साह घाइते भएपछि जनकपुरको कप्तानी सम्हालिरहेका आसिफ शेख भन्दै थिए, ‘खेलको दिन जुन टिमले बढी गल्ती गर्छ, त्यसले हार्ने हो, जसले गर्दैन, त्यसले नै जित्ने हो। हामी ब्याटिङमा सुधार गर्दै अन्तिमको चार ओभरलाई सुधार गर्ने सोचेका छौं। सुदूरपश्चिमसँग हामीले अघिल्ला दुई खेल खेल्यौं तर जति हामीसँग थियो, त्यति हामीले दिन सकेनौं भन्ने महसुस भएको छ। भोलि हामी आफ्नो शत प्रतिशत दिनेछौं।’

मैदानमा उत्रिनुअघि दुवै टिम शतप्रतिशत दिन तयार छन्। तर, दुवैका सामु आफ्नो बलियो पक्षलाई सदुपयोग गर्न र कमजोरीलाई जतिसक्दो कम गर्नुपर्ने चुनौती पनि छन्। ती बलियो र कमजोर पक्ष केलाउन सबैभन्दा पहिले एनपीएलमा यसअघि उनीहरूले गरेका खेल प्रदर्शनमै फर्कनुपर्छ। 

कुन टिमको कस्तो प्रदर्शन? 
फाइनलमा पुग्नुअघिसम्म सुदूरपश्चिम रोयल्सले जम्मा आठ खेल खेल्यो। जसमध्ये चितवन राइनोजसँगको एक खेलबाहेक सबै खेल जितेको छ। ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा सुदूरपश्चिमको लय उस्त छै, खस्किएको छैन। 

ब्याटिङमा विदेशीमात्रै होइन नेपाली खेलाडी पनि चम्किरहेका छन्। कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्ड प्रदर्शन गरिररहेका छन््। अहिलेसम्म २१८ रन पुर्‍याएका छन् भने बलिङमा ८ विकेट लिएका छन्। ओपनिङमा विनोद भण्डारी र सैफ अली जैब जमेका छन्। भण्डारीले हालसम्म एक अर्धशतकसहित १९४ रन हानिसके। ब्याटिङ–बलिङ दुवैमा सेफको योगदान उत्कृष्ट छ। यो एनपीएलभर उनले १ अर्धशतकसहित २०६ रन हानेका छन् भने ११ विकेट लिएका छन्। 

ब्याटिङमा इशान पाण्डेले पनि ठिकै प्रदर्शन गरिरहेका छन्। उनको कुल रन १२२ पुगेको छ। स्कटल्यान्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलनले पनि राम्रो प्रदर्शन गरिरहेका छन्। ८ खेलमा उनले १८७ रन बनाइसके भने बलिङमा ६ विकेट लिइसके।
 
बलिङमा स्कट कुगलाइन अन्य टिमका लागि घातक बनिरहेका छन्। ८ खेलमा १६ विकेट लिएका उनी यो एनपीएलकै सर्वाधिक विकेटटेकरको दौडमा अगाडि छन्। हरमीत सिंहले ७.२५ को बलिङ एभरेजमा ८ विकेट लिएका छन्। बलिङमा अविनाश बोहोरा र नरेन साउदको प्रर्दशन पनि औसत छ। 

उता जनकपुर बोल्ट्स बलिङमा राम्रै देखिए पनि ब्याटिङमा लय गुमाइरहेको छ। पछिल्ला खेलहरू हेर्दा लाग्छ, जनकपुरका लागि न्युजिल्यान्डका जिमी निसम एक्ला सिपाही हुन्। कर्णालीविरुद्धको क्वालिफायर २ को खेलमा पनि उनको ४५ रनले जनकपुरलाई लक्ष्य भेटाउन सहज भएको थियो। जनकपुरबाट सबैभन्दा बढी रन हान्ने उनी नै छन्। २४३ रन पुगेको छ उनको रन। बलिङमा ६ विकेट लिएका छन्। 

निसमपछि जनकपुरबाट धेरै रन हान्नेमा अमेरिकाका लाहिरु मिलान्था छन्। मिलान्थाले हालसम्म ९ खेलमा २०६ रन हानेका  छन्। विडम्बना, जनकपुरबाट नेपाली ब्याटरहरू भने चम्किन सकिरहेका छैनन्। मार्की खेलाडी आसिफ शेखले अपेक्षाअनुरूप प्रर्दशन गरिरहेका छैनन्। ९ खेलमा १२९ रन हानेका छन् उनले। 

आसिफसँगै ओपनिङमा देखापरेका आकाश त्रिपाठी या मिलान्थाको पछिल्लो खेलमा साझेदारी जमिरहेको छैन। सुरुवाती चार खेलमा लगातार जित निकालेको जनकपुरको पछिल्ला खेलहरूमा ब्याटिङ खस्किएको छ। ७ खेलमा १३२ रन हानेका कप्तान अनिल साह घाइते भएपछि जनकपुरलाई थप संकट परेको छ। सुरुमा राम्रो रन हानिरहेका मिलान्था पनि पछिल्ला खेलहरूमा लयमा छैनन्। 

तर, बलिङमा भने जनकपुर बलियो देखिएको छ। ललित राजवंशीले किफायती र सानदार बलिङ गरिरहेका छन्। ९ खेलमा १६ विकेट लिएका उनी सर्वाधिक विकेट लिने खेलाडीको दौडमा सुदूरपश्चिमका विदेशी खेलाडी कुगलाइनसँग प्रतिस्पर्धा गरिरहेका छन्। फाइनलमा दुइमध्ये जसले बढी विकेट लिन सक्छ, उही नै सर्वाधिक विकेटकर्ता हुने सम्भावना प्रबल छ। 

जनकपुरबाट हर्ष ठाकर र किशोर महतोले पनि फलदायी बलिङ गरिरहेका छन्। दुवैले समान ११ विकेट लिएका छन्। ९ विकेट लिएका मोहमद मोहसिन मात्रै होइन, पार्ट टाइम बलिङ गरिरहेका शेर मल्लले समेत ७ खेलमा ७ विकेट लिँदै जनकपुरलाई बलिङमा योगदान दिइरहेका छन्। 

सुदूरपश्चिमले जनकपुरलाई दुईपटक हराए पनि यी दुईबीच भएको खेलमा एउटा संयोग के छ भने सुदूरपश्चिमका बलिया भनिएका खेलाडी खासै चम्किएका छैनन्। जनकपुरविरुद्धको खेलमा न ऐरीको विस्फोटक ब्याटिङ देखिएको छ, न कुगलाइनको आक्रामक बलिङले बढी विकेट नै झार्न सकेको छ। दुवै खेल सुदूरपश्चिमले जिते पनि कुगलाइनले दुवै खेलमा एक–एक विकेट मात्रै लिन सके। 

लिग चरणमा भएको खेलमा जनकपुर ५१ रनमै अलआउट भएको थियो। यो एनपीएलकै सबैभन्दा कम टिम स्कोर हो यो। त्यतिबेला सुदूरपश्चिमले १२४ रनको टार्गेट दिएको थियो। त्यतिबेला विनोद भण्डारीले ३३ रन र सैफ जैबले २१ रन हानेका थिए। तर, ऐरी शून्य रनमै आउट भएका थिए। 

उता जनकपुरबाट ललित र किशोरले समान ४–४ विकेट लिएका थिए भने हर्ष ठाकरले ३ विकेट। जनकपुरका भरोसा जिमी निसम पनि ४ रनमै आउटै भए। त्यतिबेला अर्का विदेशी खेलाडी जोसुआ ट्रम्पले हानेको १३ रन नै जनकपुरका लागि सर्वाधिक बनेको थियो। निसमले भने २ विकेट लिएका थिए। 

त्यस्तै सुदूरपश्चिमका तर्फबाट हरमीत सिंहले २, ऐरीले २, इशान पाण्डेले २, सैफ अली र नरेन साउदले एक–एक विकेट लिएका थिए। 

क्वालिफायर खेलमा पनि जनकपुर सुदूरपश्चिमसँग ९ बल बाँकी रहँदै ८ विकेटले पराजित भयो। यो एनपीएलभर सबैभन्दा बलियो पक्ष मानिएको जनकपुरको बलिङ सुदूरपश्चिमसामु निरीह देखियो। बलरहरूले दुई विकेटभन्दा बढी लिन सकेनन्। यो खलमा पनि मिडल अर्डरमा आएका जिमी निसमले ४५ रन त हाने तर उनी पछिका ब्याटरले सुदूरपश्चिमको बलिङ थाम्न सकेनन्। 

ऐरीले मात्रै तीन विकेट लिए। जनकपुरले दिएको १४० को टार्गेट २० ओभर सकिन ९ बल बाँकी रहँदै सुदूरपश्चिमले जितेको थियो। विनोद भण्डारीले सबैभन्दा बढी ५८ रन हाने। त्यसपछि सैफ जैबले ३२ रन। जनकपुरका तर्फबाट ललित र किशोरले एक–एक विकेटबाहेक लिन सकेनन्। ऐरी २० रनमा नटआउट खेले।  

आशिफ जनकपुरको ब्याटिङ कमजोर भएको स्वीकार्छन्। 

‘यसअघिका सुदूरपश्चिमविरूद्धको दुवै खेलमा हामीले राम्रो ब्याटिङ गरेनौं,’ उनले भने, ‘पहिलो खेल लो स्कोरिङ थियो त्यसमा पनि हामीले ब्याटिङमा राम्रो गर्न सकेनौं। दोस्रो खेल हाइ स्कोरिङ थियो, विकेट पनि राम्रो थियो। ३०–४० रन कम भयो, दोस्रो खेलमा पनि ब्याटिङ युनिट चलेन। हामीसँग अनुभवी र युवा ब्याटर छन्। आशा छ, भोलि राम्रो कमब्याक गर्छौं।’

ब्याटिङमा सुधार गर्दै अन्तिमको चार ओभरमा राम्रो रन हान्ने जनकपुरको फाइनल रणनीति छ। 

‘दुईतीनटा खेलमा ब्याटिङ नचल्दैमा हामीले कसैलाई शंका गरेका छैनौँ,’ उनले भने, ‘फाइनलमा टस गर्नुपर्दा बढी विकेट हेर्नुपर्छ। लो स्कोरिङ विकेटमा पावरप्ले सदुपयोग गर्ने हो। बढी विकेट नजाओस् भन्नेमा ख्याल गर्ने हो। मिडल अर्डरमा रोटेसन अफ स्ट्राइक निरन्तर हुनुपर्छ। किनभने अन्तिमको चार ओभर सदुपयोग गर्ने अवसर फिनिसरलाई आवश्यक हुन्छ। हाइ स्कोरिङ म्याचमा पनि पावरप्लेलाई सदुपयोग गर्नुपर्छ। पावरप्लेमा ५०–६० रन हान्न सकियो भने मिडल अर्डर ब्याट्सम्यानलाई मद्दत पुग्छ।’

दुवैका सबलता/दुर्बलता के?
नेपाली क्रिकेट राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाल एनपीएलको फाइनलमा जुन टिमले परिस्थितिअनुसार ठण्डा दिमागले रणनीति बनाउन सक्छ, खेल उसैको पोल्टामा जाने बताउँछन्। पछिल्ला खेलहरूमा जनकपुरको ब्याटिङ कमजोर देखिएको र फाइनलमा सुदूरपश्चिमले त्यसको फाइदा उठाउने सम्भावना देख्छन् उनी। 

‘जनकपुर बोल्ट्सको सुरुवात राम्रो भएको थियो, त्यही कारण सुरुमै क्वालिफायरमा छनौट भयो,’ अग्रवाल भन्छन्, ‘सुदूरपश्चिमले पछि झन् राम्रो पिकअप लिँदै गएको देखिन्छ। जनकपुरको चाहिँ ब्याटिङ कमजोर देखिँदैछ। जिमी निसम नभएको भए कर्णालीसँगको खेल नै जित्न गाह्रो थियो। जनकपुरका लागि अनिल साह नहुनुले पनि सुदूरपश्चिमलाई फाइदा पुगेको छ।’

ब्याटिङमा संघर्ष गरिरहेको जिमी निसमको ‘एक्सक्लुसिभ’ ब्याटिङ जनकपुरका लागि फाइनलमा पनि फाइदाजनक हुनसक्ने अग्रवालको मत छ। 

‘जनकपुरबाट आसिफ शेख पनि चलिरहेका छैनन्। जबकि उनी म्याच विनिङ प्लेयर नै हुन्,’ अग्रवाल भन्छन्, ‘यो सबै कुरा केलाउँदा सुदूरपश्चिम बलियो देखिन्छ। तर, मैले जति खेल हेरेँ, त्यसमा दुवै टिमको फिल्डिङ पक्ष कमजोर देखेँ। दुवै टिमका खेलाडीले क्याच छोडिरहेका छन्। यो सुधार्न आवश्यक छ। किनभने भोलि जसले गल्ती कम गर्छ, खेल उसैले जित्ने हो।’

क्रिकेट राष्ट्रिय टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरीको मत पनि अग्रवालभन्दा फरक छैन। उनी पनि जनकपुरको कमजोर ब्याटिङ टप अर्डरको सुदूरपश्चिमले फाइदा उठाउन सक्ने बताउँछन्। 

‘सुदूरपश्चिमको टप अर्डर बलियो छ। बलिङमा पनि कुगलाइनजस्ता फास्ट बलर छन्,’ उनी भन्छन्, ‘विनोद भण्डारी र ब्रान्डन म्याकमुलनको प्रदर्शन पनि राम्रो छ। ऐरीले पनि अलराउन्ड प्रदर्शन गरिरहेका छन्। तर, पछिल्लो खेलहरूमा जनकपुर जिमी निसमको भरमा जितिरहेको छ। उनको स्ट्राइक रेट पनि राम्रो छ। फाइनलमा जित्न जनकपुरले ब्याटिङमा कमब्याक गर्न सक्नैपर्छ।’

जनकपुरको स्पिन अट्याक सुदूरपश्चिमका लागि भारी पर्न सक्ने उनको विश्लेषण छ। 

‘बलिङमा जनकपुरको स्पिन अट्याक घातक देखिएको छ,’ उनी भन्छन्, ‘तीनचारजना स्पिनर छन्। ललित राजवंशीदेखि शेर मल्ल सबैले राम्रो बलिङ गरिरहेका छन् जसले फाइनलमा निर्णायक भूमिका निर्वाह गर्न सक्छ। दुवै टिमले आफ्नो स्ट्रेन्थमा खेल्ने हो। जो हाबी हुन सक्छ, उसैले जित्ने हो। ’

पहिलो राष्ट्रिय टोलीका खेलाडी किरण राणाले फाइनलमा सुदूरपश्चिमका स्कट कुगलाइन र जनकपुरका जिमी निसमको प्रदर्शन निर्णायक हुनसक्ने बताउँछन्। 

‘यो एनपीएलमा दुवैको प्रदर्शन सानदार छ,’ उनले भने, ‘जनकपुरले कुगलाइनको फास्ट बललाई ह्यान्डल गरेर खेल्न सक्नुपर्छ। सुदूरपश्चिमले निसमको आक्रामक ब्याटिङलाई रोक्न सक्नुपर्छ। यी दुई विदेशी खेलाडीको प्रदर्शनले फाइनलको परिणाम निर्क्यौल हुने सम्भावना छ।’ 

उनी सुदूरपश्चिमको टिम लयमा रहेकाले जनकपुरलाई दुई हारको बदला लिन सहज नभएको बताउँछन्। 

‘अनिल साह घाइते हुनुले पनि जनकपुरलाई घाटा भएको छ,’ उनले भने, ‘जनकपुरको टप अर्डर बिग्रिरहेको छ। रन रेट स्लो भएको छ। मार्की खेलाडी आशिफ पनि राम्रो खेलिरहेका छैनन्। तर, जनकपुरका स्पिनरहरू  मैदानमा चम्किरहेका छन्। स्पिनमैत्री पिच भएका कारण जनकपुरले यसको फाइदा उठाउन सक्ने सम्भावना उत्ति छ।’

जनकपुरका प्रशंसकहरू चाहन्छन्, जनकपुरले मैदानमा शनिबार दुई हारको बदला लियोस्। तर, कप्तान शेख त्यो पक्षमा छैनन्। 

‘यसअघि लिग चरण र क्वालिफायरमा पराजित भएको बदला लिन्छौं भन्नेतर्फ हामी लाग्दैनौं,’ उनी भन्छन्, ‘क्वालिटी क्रिकेट खेल्छौं। हामीसँग जे–जति क्षमता छ, त्यो भोलि मैदानमा दिन्छौं। मैदानबाट निस्किने बेला आफूसँग जेजति थियो, त्यो सबै दियौं भन्ने महसुस होस्।’

आशिफ कोसिस गर्दागर्दै लिगमा राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार्छन्। 

‘कोसिस हरेक खेलमा राम्रो गरौं भन्ने नै हुन्छ,’ उनले भने, ‘रन लागोस् भन्ने नै हुन्छ। तर, सोचेजस्तो सधैँ हुँदैन। तर, केही छैन। फाइनलमा जसले जिते पनि नेपाली खेलाडीले नै जित्ने हो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad