जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले जबर्जस्त जित निकालेको छ।
नेपाल प्रिमियर लिगकै बलियो टोलीविरुद्ध चितवनले ३२ रनको जित निकालेको हो।
चितवनकाे यो जितले लुम्बिनी लायन्सपछि थप २ टोली पोखरा एभेन्जर्स र विराटनगर किंग्सको प्लेअफ सम्भावना सकिएको छ भने प्लेअफ होड अझै रोचक बनेको छ।
चितवनले जनकपुरलाई हराउँदा प्लेअफमा नखेल्ने थप दुई टोलीको टुंगो लागेको हो। काठमान्डुको भने सम्भावना कायमै छ।
अब चितवनसँगै काठमान्डु गुर्खाज, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्समध्ये एक टोली प्लेअफ होडबाट बाहिरिनेछ।

चितवनले सबै ७ खेलबाट ८ अंक जोडेको छ। ५ खेल खेलेको सुदूरपश्चिम र ६ खेल खेलेको कर्णाली याक्सको पनि ८ अंक छ। काठमान्डुको भने ६ खेलबाट ६ अंक छ। त्यसकारण अबको खेल जित्नु त पर्ने नै छ, यसबाहेक अन्य टोलीको नतिजामा समेत भर पर्नेछ।
यता आजको हारका बाबजुद जनकपुर बोल्ट्स ७ खेलबाट १० अंक बटुल्दै यसअघि नै प्लेअफमा सुरक्षित भइसकेको छ। जितको खोजीमा रहेको चितवनले आज टस जितेर ब्याटिङ रोजेको थियो।

कुशलको कप्तानी पारी कामयाब, प्रभावहीन भयो निशमको विस्फोटक ब्याटिङ
चितवनका लागि आज मार्की खेलाडी कुशल मल्लले कप्तानी पारी खेले। उनले ४१ बलमा ७२ रन हाने। त्यसमा रवि बोपाराले ३२ बलमा ४४ रन बनाएपछि चितवनले जनकपुरसामु १८१ रनको विशाल लक्ष्य दिन सकेको थियो।
चितवनका अन्य ब्याटरमध्ये हसन इसाखिलले २८, विपिन रावलले ३, सन्तोष कार्कीले १४, बसिल हमीदले २ र सोहेल तनविरले ५ रन जोडे। बसिल र सोहेल दुवै नटआउट रहे। जनकपुरले १२ अतिरिक्त रन दिएको थियो।
बलिङतर्फ जनकपुरका किशोर महतो र अरनिको यादव विकेटविहीन हुँदा ललित राजवंशीको नाममा २ विकेट रह्यो। उनीबाहेक हर्स ठाकर, मोहम्मद मोहसिन र जेम्स निशमले समान १ विकेट लिए।
१८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको जनकपुरका लागि जिम्मी निशमले २४ बलमा बनाएको ६५ रन र आसिफ शेखले २६ बलमा बनाएको २३ रन नै सर्वाधिक रह्यो। उनीहरुबाहेक अनिल साह ८, लाहिरु मिलान्था १, हर्स ठाकर ६, शुभ कंसाकार १५, मोहमद मोहसिन १३ रन बनाए। अरनिको यादव शून्य रनमै रनआउट हुँदा ललित राजवंशीले पनि रन जोड्न सकेनन्।

शेर मल्लले ५ र नटआउट रहेका किशोर महतोले ४ रन जोड्दा चितवनले ८ अतिरिक्त रन दिएको थियो। योसँगै सबै विकेट गुमाएर जनकपुरले १४८ रन मात्र बनाएपछि चितवनले प्लेअफ सम्भावना जीवितै राखेको हो।
बलिङतर्फ भने चितवनका रिजन ढकाल, सोहेल तनविर र कुशल मल्लको नाममा समान २ विकेट रहँदा अमर राउटेलाले १ विकेट लिए। रन्जित कुमार, बसिल हमिद र रवि बोपारा विकेटविहीन रहे।
Shares

प्रतिक्रिया