खेल


रोचक बन्यो प्लेअफ होड : चितवनलाई आफ्नै डर, विराटनगरलाई जनकपुर र सुदूरपश्चिमको भर

कुन टोलीको प्लेअफ सम्भावना कति?
रोचक बन्यो प्लेअफ होड : चितवनलाई आफ्नै डर, विराटनगरलाई जनकपुर र सुदूरपश्चिमको भर

नेपालखबर
मंसिर २८, २०८१ शुक्रबार २१:२९, काठमाडौँ

नेपाल प्रिमियर लिगमा अन्तिम चरणका खेल सुरु हुँदा प्लेअफको होड थप रोचक बनेको छ। जनकपुर बोल्ट्सबाहेक कुनै पनि टोली प्लेअफ पुग्ने सुनिश्चित नहुँदा ६ वटै टोलीको सम्भावना अझै कायम भएको हो।

एउटा मात्रै खेल जितेर लुम्बिनी लायन्स बाहिरिँदा यसअघि नै तीन खेल जितिसकेको चितवनलाई शुक्रबारको नतिजाले चिन्ता थपिएको छ।

शुक्रबार लुम्बिनीलाई पराजित गर्दै कर्णाली याक्स ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने चितवनले विराटनगरसँग नराम्रो हार ब्यहोरेको छ।

यो नतिजासँगै अब विराटनगरसामु पनि चौथो टोलीको रुपमा प्लेअफ पुग्ने सम्भावना कायम छ। तर यसका लागि विराटनगरलाई आफूले जितेर मात्रै पुग्दैन।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले पनि आ–आफ्ना खेल जित्न पर्छ। शनिबार जनकपुरले चितवनलाई पराजित गरेमा र आइतबार सुदूरपश्चिमले पोखरालाई पराजित गरेमा विराटनगर प्लेअफमा पुग्ने ढोका खुल्नेछ। तर त्यसका लागि पनि विराटनगरले अब फराकिलो अन्तरमा अन्तिम खेलमा काठमान्डुलाई पराजित गर्नपर्छ।

यो नतिजा आउँदा समान ६ अंक भए पनि विराटनगर प्लेअफमा पुग्ने सम्भावना हुनेछ।

त्यो नतिजा आएमा सुदूरपश्चिम र कर्णालीमध्ये एउटा टोली प्लेअफमा र अर्को जनकपुरसँग क्वालिफायरमा हुनेछन्। 

लिगमा अब ५ खेल मात्रै बाँकी छन्। सुदूरपश्चिम, पोखरा र काठमान्डुले समान २/२ खेल खेल्न बाँकी छ। जनकपुर, विराटनगर र कर्णालीले १/१ खेल खेल्नेछन्। 

खेल तालिका 
शनिबार बिहान ९ बजे पोखरा र काठमान्डु भिड्दैछन्। दोस्रो खेलमा दिउँसो १ बजे चितवन र जनकपुर भिड्नेछन्।

आइतबार बिहान ९ बजे काठमान्डु र विराटनगर तथा दिउँसो १ बजे पोखरा र सुदूरपश्चिम भिड्नेछन्। 

अन्तिम खेलमा सुदूरपश्चिम र कर्णाली भिड्दा सिधै क्वालिफायर खेल्ने टोलीको टुंगो लाग्नेछ। तर पराजित टोलीको भने प्लेअफमा पुग्ने नपुग्ने अन्य टोलीको नतिजामा निर्भर हुनेछ। यी दुई टोलीमध्ये एउटा क्वालिफायरमा पुग्ने भने निश्चित छ। 

जनकपुरलाई क्वालिफायरमा पुग्न आफ्नो खेल जिते पुग्छ। नभए सुदूरपश्चिमले दुवै खेल जित्नुपर्छ। सुदूरपश्चिमले पोखरालाई पराजित गरेर कर्णालीसँग पराजित भए तीन टोलीकै समान १० अंक हुनेछ। यो अवस्थामा नेट रनरेटका आधारमा क्वालिफायर खेल्ने शीर्ष २ टोलीको टुंगो लाग्नेछ।

विराटनगरलाई शनिबार हुने पहिलो खेल जसले जिते पनि फरक पर्दैन। तर उसलाई फराकिलो अन्तरको हारजितले भने असर गर्नेछ। दोस्रो खेलमा भने सुदूरपश्चिम विजयी हुनैपर्छ। यदि त्यो खेलमा चितवन विजयी भएमा कर्णाली र सुदूरपश्चिमको प्लेअफ खेल्ने सम्भावना पनि धरापमा पर्न सक्छ। सुदूरपश्चिमको पनि ८ अंक नै हुनेछ। 

त्यसअघिको खेलमा पोखरा र काठमान्डु जसले जिते पनि ६ अंक हुनेछ। र यी दुवै टोलीको अन्तिम खेल बाँकी नै हुनेछ। पोखराले शनिबार काठमान्डुलाई हराएमा अन्तिम खेल सुदूरपश्चिमसँग खेल्नेछ। त्यो खेलमा सुदूरपश्चिमलाई पराजित गरे पोखराको पनि ८ अंक नै हुनेछ।

यदि शनिबार चितवन विजयी हुँदा अनि, काठमान्डु र पोखरामध्येको एउटा टोलीले अबका दुवै खेल जित्यो भने त्यो टोलीको पनि ८ अंक नै हुनेछ। 

प्लेअफका लागि सदूरपश्चिम र कर्णालीबीचको पराजित टोली पनि ८ अंकमै रोकिनेछ। त्यस्तो अवस्थामा चितवन, काठमान्डु वा पोखरा (विजयी टोली), कर्णाली वा सुदूरपश्चिम (पराजित टोली)बीच प्लेअफको टुंगो नेटरनरेटका आधारमा तय हुनेछ। यी तीन टोलीमध्ये एउटा ८ अंक भए पनि बाहिरिनेछ। 

यदि यो नतिजा आएमा शनिबारको पहिलो खेलमा पराजित हुने पोखरा वा काठमान्डु र विराटनगरको सम्भावना भने शनिबारको दोस्रो खेलपछि पूर्णरुपमै समाप्त हुनेछ।

दोस्रो खेलमा जनकपुरले चितवनलाई पराजित गरेमा चितवनको सम्भावना कमजोर हुनेछ। यदि त्यो नतिजा आएमा प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो ६ अंकमै रनरेटबाट तय हुने सम्भावना छ। 

अहिलेसम्म चितवन नेट रनरेटमा पनि अगाडि छ भने विराटनगर दोस्रोमा छ। तर अब चितवन पराजित भए र विराटनगरले काठमान्डुलाई हराएमा नेट रनरेटमा पनि विराटनगर अगाडि हुनसक्छ छ। यसका लागि विराटनगरको फराकिलो जित र चितवनको फराकिलो हार आवश्यक छ। 

त्यो अवस्थामा पुग्न आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले पोखरालाई र विराटनगरले काठमान्डुलाई पराजित गर्नैपर्छ। तर भोलिको दोस्रो खेलमा चितवन विजयी भएमा विराटनगरसँगै प्लेअफबाट बाहिरिने तीन टोलीको टुंगो लाग्ने छ। लुम्बिनी यसअघि नै बाहिरिसकेको छ। भोलि चितवनले जिते विराटनगर र पहिलो खेलमा पराजित हुने पोखरा वा काठमान्डुमध्येको एक टोली पनि अन्तिम खेलअघि नै बाहिरिने निश्चित हुनेछ। 

तर भोलि काठमान्डुले पोखरालाई पराजित गरे र अन्तिम खेलमा विराटनगरलाई हराए काठमान्डु प्लेअफमा पुग्नेछ। पोखराले काठमान्डुलाई पराजित गरे प्लेअफमा पुग्न अन्तिम खेलमा सुदूरपश्चिमलाई पराजित गर्नपर्छ। 

रनरेटसहित अंक तालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad