खेल


सुदूरपश्चिमसँग हार्‍यो काठमान्डु, ९४ रनमै अलआउट

सुदूरपश्चिमसँग हार्‍यो काठमान्डु, ९४ रनमै अलआउट

लक्ष्मी जि.सी
मंसिर २०, २०८१ बिहिबार १६:४, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ९४ रनमै अलआउट गरेको छ। 

नरेन साउदको घातक बलिङमा काठमान्डु गुर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको हो।

योसँगै बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिमसँग काठमान्डु ७३ रनले पराजित भयो। जारी एनपीएलमा सुदूरको यो दोस्रो जित हो। 

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले हराएको थियो। 

काठमान्डुले भने एनपीएलको तीन खेलमा दुई हार भोगेको छ। काठमान्डु पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो। 

सुदूरपश्चिमले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमान्डु १५.५ ओभरमा ९४ रनमा समेटियो। 

काठमान्डुलाई सस्तैमा रोक्न सुदूरपश्चिमका नरेन साउदले ५ विकेट लिए। उनले ३.५ ओभरमा मात्र १९ रन खर्चे। एनपीएलको एकै खेलमा ५ विकेट लिने नरेन दोस्रो खेलाडी हुन्। 

यसअघि चितवनका तनविरले एकै खेलमा पाँच विकेट लिएका थिए। 

अविनाश बोहोराले २ विकेट लिए। ब्रान्डोन र सैफ जैवले समान एक विकेट झारे। 

स्टेफन एस्किनाजीले बनाएको ३७ रन नै काठमाडौँका लागि सर्वाधिक रह्यो। उनले ३३ बलमा ५ चौका र १ छक्का हाने। सुमित महर्जनले १४ रन थपे। भीम सार्की र जेहार्ड इरासमसले समान १० रन बनाए। 

अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डु गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो। 

दोस्रो विकेटका लागि ओपनर विनोद भण्डारी र ब्राण्डोन म्याक मुलेनले ८६ रनको साझेदारी गरे। मुलेन ५३ रनमा गेहार्ड इरासमसको बलमा सहाब आलमको हातबाट क्याच आउट हुन पुगे। मुलेनले ३१ बलमा ३ चौका र ४ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

ओपनर भण्डारी ३५ रन बनाउँदा साहब आलमको बलमा एलबीडब्लु धरापमा परे। कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रन बनाउँदै पेलेलियन फर्के। २५ बलमा ३ चौका र २ छक्का हानेका दीपेन्द्र करण केसीको बलमा माइकल लेविटको हातबाट क्याच आउट भए। 

अर्का ओपनर जैब खान ११ रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए। रोहन मुस्तफा ५ रन बनाउँदा रासिदकै बलमा बोल्ड आउट भए। आरिफ शेख ३ रन बनाउँदा रनआउट हुन पुगे।

स्कट कुगलेइन ७ र ईशान पाण्डे १ रनमा अविजित रहे। 

काठमान्डुका लागि रासिद खानले दुई विकेट लिए। करण केसी, साहब आलम र जेहार्ड इरासमसले समान एक विकेट झारे।

आजै भएको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad