लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो बलिङ युनिट चुकेको तर बिराटनगरका लोकेश बम र बसिर अहमदले उत्कृष्ट ब्याटिङका कारण पहिलो खेलमा पराजित हुन पुगेको बताएका छन्।
विराटनगर किङ्ससँगको हारपछि प्रतिक्रिया दिँदै लुम्बिनीका कप्तान रोहितले आफ्नो बलरको राम्रो प्रदर्शन हुन नसकेको बताए।
यस्तै उनले विराटनगरका दुई ब्याटरको प्रसंसा गरे।
रोहितले बेन कटिङले बलिङ नगर्ने भनेपछि उनलाई अवसर नदिइएको प्रस्ट्याएका छन्। तर दुर्गेश र सिमोन्ड्सले भने राम्रो बलिङ गरेको रोहितको भनाइ छ।
बसिर र लोकेशबीचको साझेदारीले खेल टाढा लगेको बताए। रोहितले यो खेलकमा बलिङमा देखिएको कमजोरी आगामी खेलमा सुधार हुने आशा गरे।
विराटनगरका ओपनर लोकेशले भने आज खेल जिताउँछु भन्ने आत्मविश्वासका साथ आएको सोहीअनुरूप खेल्न सकेको प्रतिक्रिया दिएका छन्। उनले अघिल्ला दुई खेलमा राम्रो गर्न नसकेको हुँदा आज राम्रो गर्नुपर्छ भन्ने लक्ष्यसहित आएको प्रतिक्रिया दिए।
सुरुवात राम्रो गरेकै कारण टोलीले जित हात पारेको उनले बताए। अकिब इलियासले आफ्नो स्ट्रेन्थअनुरूप खेल्न सुझाव दिएको र सोहीअनुरूप आफूले प्रयास गरेको लोकेशको भनाइ छ।
लोकेशले विकेटकिपङमा भने आफूबाट केही गल्ती भएको बताए। यसलाई सुधार गर्ने पनि उनले बताएका छन्। आफ्नो तेस्रो खेलमा विराटनगरले लुम्बिनीलाई पराजित गरेको छ। लुम्बिनी भने पहिलो खेलमा पराजित भएको हो।
Shares

प्रतिक्रिया