नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल संघहरुको संस्था कन्फेडेरेसन अफ नेशनल स्पोर्टस एसोसिएसन्ले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
एसोसिएसनले आइतबार देउवा निवासमा पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा राष्ट्रिय खेल संघहरूको संस्थागत सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूको मनोनयन गरिनुपर्ने, कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुदको मिति र खेलगत प्रतियोगिता स्थल तोक्ने कार्य सरोकारवाला खेल संघहरूसँगको छलफल र परामर्शमा यथाशीघ्र घोषणा गरिनुपर्ने माग राखिएको छ।
त्यस्तै खेलाडीहरूलाई उपलब्ध गराउने खेल पोसाक र खेल सामग्रीहरूको गुणस्तरको परीक्षण, खेलाडीहरूको खानपिन र आवासको उचित व्यवस्था, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकलाई तत्काल रोकी प्रत्यक्ष सरोकारवाला राष्ट्रिय खेल संघहरूको छलफल र सुझावसहित अघि बढाइनुपर्ने माग गरेको छ।
कांग्रेस सभापति देउवाले सो मागलाई सकारात्मक रुपमा लिई सम्बन्धित निकायमा आवश्यक निर्देशन दिने बताएका छन्।
Shares

प्रतिक्रिया