खेल


मदन भण्डारी एकेडेमीले १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता गर्ने, २ करोड राखेपले दिने

मदन भण्डारी एकेडेमीले १८ खेलको राष्ट्रव्यापी प्रतियोगिता गर्ने, २ करोड राखेपले दिने

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १८:८, काठमाडौँ

मदन भण्डारी स्पोर्ट्स् एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

मदन भण्डारी स्पोर्ट्स् एकेडेमीले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो राष्ट्रव्यापी खेल प्रतियोगिता सार्वजनिक गरेको हो। खेल पर्यटनलाई विकास गर्न सके मात्र देशको अर्थतन्त्र उकालो लाग्ने विश्वास लिँदै खेल प्रतियोगिता आयोजनामा ध्यान दिइएको एकेडेमीले जनाएको छ।

एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ।

यी खेल आयोजनामध्ये एकेडेमीले तेक्वान्दो, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, शारीरिक सुगठन, चेस र हक्कीमा महिलाको प्रतिस्पर्धा गर्ने जनाएको छ।

रोड रेसमा यु–२० र यु–१६ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। क्रिकेटको प्रतियोगिता भने केपी ओली कपबाट गर्ने भएको छ।

एकेडेमीका अनुसार, पोखरा वा काठमाडौँमा चैत २५ देखि वैशाख ३ गतेसम्म केपी ओली कप राष्ट्रिय क्रिकेट हुनेछ। यस प्रतियोगिताका विजेताले १० लाख, उपविजेताले ५ लाख र सेमिफाइन पुग्नेले समान दुई लाख पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

सबैभन्दा पहिला पुरुष भलिबलबाट एकेडेमीले तय गरेको राष्ट्रव्यापी प्रतियोगिता सुरु हुनेछ। एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इन्डो-नेपाल पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता बुटवलमा आगामी पुस १७ देखि २४ गतेसम्म हुने तय भएको छ।

एकेडेमीका अध्यक्ष ध्रुव आचार्य

यस प्रतियोगिताका विजेताले ७ लाख ५० हजार, उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुने टोलीले १ लाख ५० हजार र शान्त्वनास्वरूप एक लाख रुपैयाँ पाउनेछन्। बेस्ट प्लेयरले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। 

भारतको रेलवे टोलीले भलिबलमा प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। साथै एकेडेमीले सातै प्रदेशमा ३२औं मदन भण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने कार्यक्रम पनि तय गरेको छ। यी कार्यक्रम आयोजना गर्न करिब १० करोड ६६ लाख ९७ हजार ७७४ रुपैयाँ अनुमानित लागत लाग्ने आयोजकले जनाएको छ। यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ। 

सम्बन्धित खेल संघसँग प्राविधिक सहयोग र सहकार्य गरेर प्रतियोगिता आयोजना गर्ने आचार्यले बताए। उनले सात प्रदेशमा खेल प्रतियोगिता हुने र ती प्रतिस्पर्धामा स्थानीय निकायका साथै कर्पोरेट क्षेत्रलाई पनि सहभागी गराउने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad