खेल


यी हुन् नेपाल प्रिमियर लिग खेल्ने विदेशी खेलाडी, कुन टिममा को?

यी हुन् नेपाल प्रिमियर लिग खेल्ने विदेशी खेलाडी, कुन टिममा को?

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १३:४३, काठमाडौँ

घरेलु मैदानमा पहिलोपटक हुनलागेको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि विदेशी खेलाडी आउने क्रम जारी छ।

कति फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अझै सार्वजनिक गर्दै छन्। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलोपटक हुनलागेको एनपीएलमा ८ फ्रेन्चाइज टोलीले स्पर्धा गर्दै छन्। एनपीएलमा सहभागी हुने टोलीले विदेशी खेलाडी अनुबन्ध गर्न पनि हानथाप गरेका थिए। 

एनपीएलका लागि अहिलेसम्मको ठूलो नाम भनेको भारतीय चर्चित क्रिकेटर शिखर धवन हुन्। एनपीएलको अक्सनमा सबैभन्दा कम खर्च गरेको कर्णाली याक्सले शिखरलाई टोलीमा भित्र्याएपछि टिमकै चर्चा एक्कासि चुलिएको छ। 

विश्व क्रिकेटका चर्चित खेलाडी धवन कर्णालीमा आबद्ध भएसँगै नेपाली समर्थकमा उत्साहको छुट्टै सञ्चार भइरहेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा पाउनेमा पनि कर्णाली नै अघि देखिएको छ। कर्णालीमा शिखरसँगै हङकङका बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका पूर्वकप्तान जिसन मक्सूद छन्। 

यस्तै चितवन राइनोजमा जोडिएका दक्षिण अफ्रिकाका मार्चन्ट डे लाग भने एनपीएलअघि नै टोलीबाट बाहिरिएका छन्। अभ्यासका क्रममा घाइते भएपछि उनी एनपीएलबाट बाहिरिएका हुन्। चितवनमा अनुबन्ध भएका नामिबिया जान निकोल लिफ्टी इटन र इंग्ल्यान्डका ल्युक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिल काठमाडौं आइसकेका छन्। चितवनले उनीहरुसँगै र इंग्ल्यान्डका रवि बोपारालाई पनि टोलीमा समेटेको छ। 

एनपीएलका लागि जनकपुर बोल्ट्सले अझै विदेशी खेलाडी सार्वजनिक गर्दै छ। बिहीबार मात्र जनकपुरले क्यानडाका हर्ष ठाकरलाई टोलीमा भित्राएको जानकारी दिएको हो। यसअघि इङ्ग्ल्यान्डका  अलराउन्डर बेन माइकलाई भित्राएको जनकपुरले न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन, लाहिरु मिलन्थालाई अनुबन्ध गरेको थियो। 

यता सुदूरपश्चिमले ४ विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरिसकेको छ। जनकपुरले विदेशी खेलाडीका रुपमा ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन र रोहन मुस्तफालाई टोलीमा समेटेको छ।  

काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिटलाई टोलीमा समेटेको छ। एनपीएलका लागि लेभिट नेपाल आइसकेका छन्। लेभिटका लागि त्रिवि मैदान नयाँ होईन। लेभिटसँगै काठमाडौंले नामिबियाका कप्तान मर्वी जेरार्ड इरसमस तथा इंग्लिस क्रिकेटरहरु स्टेफन इस्किनाजी, नाथन सावटर र ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ।

लुम्बिनीले भने विदेशी खेलाडीका रुपमा पाँच खेलाडीलाई टोलीमा समेटेको छ। लुम्बिनीले क्यानडाका पूर्वकप्तान साद विन जफरसँगै इङ्ग्ल्याण्डका टम मुर्स, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द र वेस्ट इन्डिजका रामोन सिम्नोड्सलाई टोलीमा अनुबन्ध गरेको छ।

एनपीएलका लागि फ्रेन्चाइज टोलीहरुले आफ्नो घरेलु मैदानमा नै अभ्यास गरेर काठमाडौँ आउँदै छन्। तिनै टोलीमध्ये पोखरा एभजेन्र्स पनि एक हो। पोखरा क्रिकेट मैदानमा अभ्यास गरेर पोखराको टोली एनपीएलका लागि काठमाडौँ आइसकेको छ। एनपीएलका लागि पोखराले स्कटल्यान्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ। 

उता एनपीएलको मिति नजिकिदै जाँदा विराटनगर किंग्सको तनाव भने बढ्दै गइरहेको छ। विराटनगरले उद्घाटन खेलमा जनकपुरविरुद्ध खेल्दै छ। तर शनिबार सुरु हुने एनपीएलका लागि आज बिहीबारसम्म पनि विदेशी खेलाडी आइपुगेका छैनन्।

विराटनगरले विदेशी खेलाडीका रुपमा अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलमलाई टोलीमा समावेश गरेको थियो।

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad