नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रिक्रम चन्द सत्तारूढ दलका नेताहरूसँग दौडभेट गरिरहेका छन्। मंगलबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका उनले बुधबार नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
देउवासँगको भेटमा नेकपाका महासचिव चन्दका साथै प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि थिए। उनीहरूले भेटवार्तामा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनलगायत विषयमा छलफल भएको नेकपाले जनाएको छ।
चन्दले देउवासँग सत्ता गठबन्धनमा सामेल र संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्वयनमा पहल गरिदिन आग्रह गरेका थिए। यस्तै तीन बुँदे सहमतिविपरीत पछिल्लो समय पक्राउ परेका नेकपाका कार्यकर्तालाई रिहाइका लागि सहयोग गर्न पनि उनले आग्रह गरे।
आफ्नो पार्टीले देशैभरी उत्पादनका कार्य गर्दै आएको जानकारी गराउँदै चन्दले सरकारी तवरबाट विशेष सहयोग उपलब्ध गराउनुपर्ने माग पनि राखेको उक्त पार्टीका नेता राजेन्द्र चिमौरियाले जानकारी दिए।
उनका अनुसार, जवाफमा देउवाले तीन बुँदे सहमति कार्यन्वयनमा आफू दृढ रहेको बताउँदै सरकारसँग छलफल गरेर छिटै टुंगोमा लैजाने बताएका थिए। प्रधानमन्त्री ओली चीन भ्रमण सकेर फर्केपछि यस विषयमा छलफल गर्ने र नेकपाको उत्पादन कार्यलाई सघाउने देउवाको भनाइ थियो।
Shares

प्रतिक्रिया