नेपाली क्रिकेटको कार्यकारी निकाय नेपाल क्रिकेट संघ (क्यान) को फ्रेन्चाइज लिग आयोजनाको फरक फरक अनुभव छ। कहिले देशभित्रकै कम्पनीहरूलाई फ्रेन्चाइज लिगको अनुमति दिएको क्यानका लागि दुई वर्षको प्रयास भने विवादास्पद बन्न पुगेको थियो।
८ करोड रुपैयाँ लिएर भारतीय कम्पनीलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी दिनु क्यानका लागि दुर्भाग्य नै सावित भयो।
स्पट फिक्सिङदेखि खेलाडीले तोकिएको रकम समयमा नपाउनुका साथै क्यानले नै पनि रकम पाए नपाको अझै प्रष्ट छैन। जसकारण क्यानकै चर्को आलोचना भयो। क्यान नेतृत्वले पत्रकार सम्मेलन नै गरेर नेपाल टी–२० लिग आयोजनामा कमजारी भएको स्वीकार गर्दै भारतीय कम्पनीलाई दिने सम्झौता रद्द भएको घोषणा गरेको थियो। त्यसअघि नै एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग स्थगित भइसकेका थिए।
तर, क्यानको नयाँ कार्यसमिति आएपछि फ्रेन्चाइज लिग आयोजनालाई प्रमुखताका साथ अघि बढायो। त्यसको मुख्य नेतृत्व क्यानका सचिव पारस खड्काले लिए। क्यानले नै लिग आयोजना गर्नेमा क्यान कार्यसमितिबाट अनुमोदन गराए। त्यसपछि प्रक्रिया अघि बढ्यो। नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको औपचारिक कार्यक्रममार्फत घोषणा भयो।
विभिन्न प्रक्रिया पूरा गर्दै ८ टोली छनोट, मार्की खेलाडीको छनोट हुँदै असोज २० गते अक्सनपनि सकिएको छ। टोलीहरूको प्रशिक्षक र विदेशी खेलाडी अनुबन्धनसँगै तयारीमा जुट्ने क्रममा छन्। क्यानले मार्केटिङ, ब्रोडकास्टिङ सम्झौता गरिसकेको छ। क्यानको तयारी हेर्दा तोकिएको समयमा नै एनपीएल सुरु हुनेछ।

तर, गत साता क्यानलाई पठाइएको एउटा पत्रले क्रिकेट जगतमा तरंग ल्याएको छ। यद्यपी एनपीएलका सहभागी टोलीले आ आफ्नो तयारीलाई जारी राखेका छन्। क्यानलाई पत्र राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी आमिर अख्तरले पठाएका थिए।
नेपालमा फ्रेन्चाइज लिगको सुरुवात गरेका अख्तर अहिले नेपाल प्रिमियर लिगको नाम आफ्नो नाममा रहेको दाबी गरेका छन्। उनले नेपाल प्रिमियर लिग प्रालि कम्पनी रजिष्टार कार्यालयमा आफ्नो नाममा दर्ता भएको र त्यही नामको लिग क्यानले गर्दा आफूसँग सहमति गर्नुपर्ने उनको सर्त छ।
उनले क्यानको अहिलेको प्रक्रियालाई गैरकानुनी समेत भनेका छन्। उनले सहमतिका लागि क्यानलाई सात दिनको अल्टिमेटम दिएका छन्। क्यानले आधिकारिक रुपमा उनको प्रस्तावलाई सम्बोधन गरेको छैन।
यद्यपी क्यानका प्रवक्ता छुम्बी लामाले क्यानले यो विषयलाई गम्भीर रुपमा नलिएको बताएका छन्।
उनले भने, ‘क्यानले आयोजना गर्ने एनपीएलको तयारी अन्तिम चरणमा पुगेको छ। लिगका लागि सबै काम सकिएको छ। यस्तोमा केहीदिन अघि बजारमा आएको कुराले केही अप्ठेरो पर्दैन।’
क्यानले सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता तथा आईसीसी र एसीसीमा आबद्ध संस्था भएकाले प्रतियोगिता आयोजना गर्न अलग्गकै कही दर्ता र अनुमति लिन नपर्ने उनले बताए।
‘निजी भन्दा पनि सरकारी निकाय महत्त्वपूर्ण हुन्छ। अहिले राखेपदेखि लिएर क्यानले आयोजना गर्ने प्रतियोगिता नै मुख्य हो। त्यसैले क्यानले एनपीएलका लागि अरु कसैको सहमति लिनु पर्दैन,’ लामाले थपे।
अख्तरको दाबीलाई एनपीएलसँग सम्बन्धित कसैले पनि गम्भिरतापूर्वक लिएको देखिन्न। यस्तोमा क्रिकेटमा आफ्नो अस्तित्व जोगाइराख्न पनि एनपीएल आयोजना नजिँकिदै गर्दा अख्तरले पत्रमार्फत तरंग सृजना गर्न खोजेको देखिन्छ।
Shares

प्रतिक्रिया